ग्लोबल आइएमई बैंकले कमायो ४ अर्ब ४० करोड खुद नाफा, प्रतिसेयर आम्दानी कति ?
१५ वैशाख, काठमाडौं। ग्लोबल आइएमई बैंकले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले समीक्षा अवधिसम्म ४ अर्ब ४० करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले आर्जन गरेको उक्त नाफा अघिल्लो आवको तुलनामा २.९३ प्रतिशतले कम हो । अघिल्लो आवका सोही अवधिसम्म भने बैंकले ४ अर्ब ५३ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा समेत सामान्य गिरावट आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १२ अर्ब ३१ करोड रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी घटेर ११ अर्ब ८८ करोडमा सीमित बनेको छ । बैंकको वितरणयोग्य मुनाफा समेत १५.३२ प्रतिशतले घटेर ३ अर्ब ५४ लाखमा खुम्चिएको छ । यो अवधिमा बैंकको लाभांश क्षमता १२. ०५ प्रतिशतबाट घटेर १०.५० प्रतिशतमा झरेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १५.४० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७८.५३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.४६ गुणा कायम भएको छ ।
प्रकाशित मिति : 09:09









