१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

स्वर्गीय दिनेश सिटौलाको पारिश्रमिक नदिने निर्माता र निर्देशकको सूची सार्वजनिक

१३ वैशाख, काठमाडौँ । चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष दिनेश सिटाैला वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग चुनावी प्रचारमा जाँदा अचेत हुनुभएपछि उपचारका लागि अस्पताल पुर्याइयो तर केही दिनमा अस्पतालले उहाँलाई बचाउन नसकेको जानकारी दियो । यो जानकारी २०८२ माघ १८ गतेको थियो ।

केही दिनमा दिनेशको निधनको तीन महिना पूरा हुँदैछ । तर दिनेशले वर्षाैदेखि काम गरेर नपाएको पारिश्रमिक दिने विषयमा चलचित्रका निर्माता र निर्देशकले चासो समेत दिइएको पाइएन ।

दिनेशले सहकारीबाट ऋण लिएर चलचित्रको प्रचारको काम गरेर जुन मानवता प्रदर्शन गर्नुभयो त्यसको विपरित सम्झाैता गरेर र नगरेर उहाँलाई काममा लगाउने चलचित्रका निर्माता र निर्देशकले वर्षाैदेखि पारिश्रमिक नदिएर अमानवीय व्यवहार प्रदर्शन गरेका छन । दिनेशको पारिश्रमिक खानेहरू लोकप्रिय र चर्चित भएका अनुहार समेत छन । करोडाैँका मालिका रहेकाहरूले पनि दिनेशमाथि अन्याय गरेको खुलासा भएको छ ।

दिनेशको पारिश्रमिक नदिनेमा चलचित्रका सदाबाहर नायक भुवन केसीदेखि चन्दाबाट समाजसेवाको पहिचान बनाउनुभएको सीताराम कट्टेल धुर्मुस समेत रहनुभएको छ । दिनेशको पारिश्रमिक नदिनेमा चलचित्रको व्यापारमा रेकर्ड नै बनाउन सफल बिराज भट्टदेखि पूरै लगानी डुबाउने पत्रकार ऋषि धमला समेत हुनुहुन्छ ।

सबैभन्दा धेरै पारिश्रमिक फिल्म सिटामोलका निर्माता/निर्देशक सिमोश सुनुवारसँग लिन बाँकी देखिन्छ । दिनेशको डायरीमा भेटिएको विवरण अनुसार सुनुवारसँग दिनेशले १३ लाख रूपैयाँ लिन बाँकी रहेको छ । त्यस्तै सबैभन्दा कम पारिश्रमिक जनै हराएको मान्छेका निर्माता विमल न्यौपाने, फिल्म मोहरका निर्माता चन्द्रजंग शाही र फिल्म गुलाबीका निर्देशक समुन्द्र भट्टसँग जनही ५० हजार पारिश्रमिक लिन बाँकी छ ।

तस्बिरमा दिनेशको पारिश्रमिक नदिनेहरू कमशः सिताराम कट्टेल धुर्मुस, भुवन केसी, बिराज भट्ट, ऋषि धमला, शंकर घिमिरे र कृषा चाैलागाइँ । श्यामश्वेतमा स्वर्गीय दिनेश ।

चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीले निर्माता संघमा पत्र लेखेर २३ जनाबाट दिनेश सिटाैलाको पारिश्रमिक उठाउने काममा सहयोग र समन्वय गरिदन अनुरोध गर्नुभएको पत्र दैनिकीले प्राप्त गरेको छ । पत्रमा ५० हजारदेखि १३ लाख रूपैयाँसम्म पारिश्रमिक बाँकी रहेको देखिन्छ । दिनेशको परिवार भने अहिले पनि सहकारी ऋणको व्याज तिर्न नसकेर तनावमा रहेको छ ।

जिउँदैमा लाखाैँ पारिश्रमिक नदिए पनि निधनपछि पारिश्रमिक दिन बाँकी रहेकाहरूले परिवारसँग सम्पर्क गरेर सहजै देलान भनेर बसेका साथीहरू समेत अहिले ट्वँ परेका छन । चलचित्र निर्माता र निर्देशकहरूले रेस्पोन्स नगरेपछि उनीहरूले दिनेशको डायरी र मोबाइलको नोटप्याडमा रहेको सबै विवरण सार्वजनिक गर्ने तयारी समेत गरेका छन । संघले भने यसअघि नै सिटौलाको स्मृतिमा कम्तीमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा नै गरिसकेको छ ।

निर्माता संघमा बलामीले पठाएको पत्रमा भनिएको छ, ‘चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय कार्यसमितिका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको असमायिक निधन पश्चात उहाँले मिडिया संयोजन गरेका विभिन्न चलचित्रका निर्माताहरूसँग पारिश्रमिक तथा मिडिया मार्केटिङ अन्तर्गत विज्ञापन सम्बन्धी रकमहरू बाँकी रहेको जानकारी गराउन चाहन्छौँ ।उहाँले आफ्ना डायरी तथा मोबाइल नोटमा टिपोट गरी राख्नुभएको विवरण र साथमा रहेको चेक अनुसार दर्जनौं निर्माताहरूसँग वक्यौता रकम उठाउन बाँकी रहेको देखिएको छ । ती निर्माताहरू नेपाल चलचित्र निर्माता संघका सदस्य समेत भएकाले, सम्वन्धित निर्माताहरूलाई मौखिक वा औपचारिक पत्राचारमार्फत स्वर्गीय दिनेश सिटौलालाई तिर्न बाँकी रकम चलचित्र पत्रकार संघ नेपालमार्फत बुझाउन आवश्यक पहल गरिदिनुहुन, वा निर्माता संघमार्फत नै सो रकम संकलन गरी उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौँ । पहिलो चरणको सूची यसैसाथ संलग्न गरिएको छ । दोश्रो चरणको सूची समेत यथासम्भव चाँडै उपलब्ध गराइनेछ । हालका लागि संलग्न सूचीमा उल्लेखित निर्माताहरूसँग समन्वय तथा सहकार्य गरिदिनुहुन विशेष अनुरोध गर्दछौ ।’

चलचित्र पत्रकार संघले स्वर्गीय सिटौलाको बक्यौता रकम संकलन सम्बन्धमा उहाँको परिवारसँग छलफल गरी संघले उक्त कार्यको स्वामित्व तथा जिम्मेवारी लिएको जनाएको छ । संघले बाँकी रकम नतिर्ने वा नबुझाउने निर्माताहरूको नाम सार्वजनिक गर्ने तथा देशभरका चलचित्र पत्रकारहरूले ती निर्माता तथा उहाँहरूले निर्माण गरेका चलचित्रहरू बहिष्कार गर्ने र आवश्यक परे कानुनी प्रक्रिया समेत अगाडि बढाउने चेतावनी समेत दिएको छ । संघको यो चेतावनी लिखित रूपमै निर्माता संघमा पुगेको स्रोतले बताएको छ ।

चलचित्र पत्रकार संघले पत्र मार्फत ताकेता गरेपछि फिल्म जेरी/ग्याङस्टार निर्माता सरोज न्यौपानेको ३ लाख र जनै हराएको मान्छे निर्माता विमल न्यौपानेले ५० हजार बक्याैता भुक्तानी गरिसकेको संघ स्रोतले जनाएको छ ।

स्वर्गीय दिनेश सिटौलाले आफ्नो डायरीमा उठ्न बाँकी पारिश्रमिक भनेर उल्लेख गरेको विवरण यस्तो छ

१. फिल्म सिटामोल निर्माता/निर्देशक सिमोश सुनुवार – १३ लाख
२. फिल्म रिमै निर्माता/निर्देशक खिलबहादुर गुरुङ – ३ लाख
३. फिल्म हर्ष निर्माता एकता पौडेल – २ लाख ५० हजार
४. फिल्म तेलभिषा निर्माता/निर्देशक शंकर घिमिरे – २ लाख
५. जनै हराएको मान्छे निर्माता विमल न्यौपाने – ५० हजार
६. फिल्म क्याप्टेनका निर्माता भुवन केसी – ६ लाख ५० हजार
७. फिल्म विरविक्रम निर्माता/निर्देशक मिलन चाम्स – २ लाख
८. फिल्म टम डायरिज निर्माता बाबु सापकोटा – ३ लाख
९. फिल्म सेन्टीभाइरसक निर्माता सिताराम कट्टेल – २ लाख ५० हजार
१०. फिल्म घामड शेरेका निर्देशक हेमराज बिसी – १ लाख ५० हजार
११. फिल्म अनुराग निर्माता ऋषि धमला – ३ लाख
१२. फिल्म जारी २ निर्माता मणिराम पोखरेल – ४ लाख
१३. फिल्म ऐँचोपैँचोका निर्देशक कृषा चौलागाई – २ लाख
१४. फिल्म प्रसाद २ निर्माता सुवास थापा – ६० हजार
१५. फिल्म साङ्गलोका निर्माता विराज भट्ट – २ लाख
१६. फिल्म पण्डित बाजेको लौरी निर्माता थमन भण्डारी – २ लाख ५० हजार
१७. फिल्म आप्पा निर्देशक अनमोल गुरुङ – १ लाख ५० हजार
१८. फिल्म मोहर निर्माता चन्द्रजंग शाही – ५० हजार
१९. फिल्म जेरी/ग्याङस्टार निर्माता सरोज न्यौपाने – ३ लाख
२०. फिल्म कोशेढुंगा दिनेश खड्का (प्याट्रिक) – १ लाख ५० हजार
२१. फिल्म गुलाबी निर्देशक समुन्द्र भट्ट – ५० हजार
२२. फिल्म लण्डन टु पेरिस एण्ड प्रोडक्सन – २ लाख
२३. फिल्म प्रेम गीत २ का सन्तोष सेन – ५ लाख

प्रकाशित मिति : 13:00