११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

पार्सल तथा उपहार पठाउने नाममा ठगी गर्ने लिम्बू पक्राउ

११ वैशाख, काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइनमार्फत पार्सल तथा उपहार पठाउने नाममा ठगी गर्ने एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा इलामको फाकफग्तुम गाउँपालिका–६ बस्ने २७ वर्षीय सुजन लिम्बू भन्ने सुशन थेगिम लिम्बू रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “निजले सामाजिक सञ्जाल टिकटकमा रोहन राजपुत नाम राखेर नेपाली महिलासँग साथी भई कुराकानी गर्दै युएस डलर, गरगहना लगायतका विभिन्न उपहार काठमाडौँको एयरपोर्टमा रहेको डिएचएल कम्पनीको शाखामा आइपुगिसकेको भन्दै कष्टम चार्ज चन्दै रु दुई लाख ठगेको अभियोगमा पक्राउ गरिएको हो ।”

यसैगरी निजले सामानको ट्याक्सवापतको रकम भन्दै ह्वाट्स नम्बर ९७००४३५३३१ बाट सम्पर्क गरी विभिन्न बैंक खातामा जम्मा गर्न लगाउने गरेको र हाल सम्म उक्त नम्बरको ह्वाट्सबाट ४० भन्दा बढी नेपाली महिलालाई सम्पर्क गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका निज लिम्बूलाई ठगी कसुरमा आवश्यक थप अनुसन्धान एवं कारबाहीको लागि आज जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रवक्ता कार्कीले बताउनुभयो ।

प्रकाशित मिति : 16:23