१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

लगानीको वातावरण बन्दैछः गभर्नर डा नेपाल

४ फागुन, काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले मुलुकमा राजनीतिक स्थिरता कायम भई स्थिर सरकार बनेकाले लगानीको वातावरण बन्दै गएको बताउनुभएको छ । एशोसियसन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नेपालको आज उद्घाटन गर्र्दै गभर्नर नेपालले देश आर्थिक रुपान्तरणको बाटोमा अघि बढेको सन्दर्भमा उचित लगानीका लागि वित्तीय विश्लेषणको महत्व रहेको उल्लेख गर्नुभयो ।

सरकारले एक स्थानीय तह कम्तीमा एक बैंकको नीति लिएको र वित्तीय साक्षरता र वित्तीय पहुँच पनि बढ्दै गएको भन्दै उहाँले यसले आर्थिक गतिविधि बढउनका साथै वित्तीय अवस्थामा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको समग्र वित्तीय विश्लेषकको संस्थाका रुपमा एशोसिएसन स्थापना गरिएको छ । वित्तीय क्षेत्रको विश्लेषणमार्फत नेपालमा समग्र सामाजिक हितका लागि लगानी र पूँजी बजारमा नैतिकता, व्यावसायिकता र पारदर्शीता बढाउने उद्देश्यले चार्टर फाइनान्सियल एनालिष्ट (सिएफए) संलग्न सो संस्था नेपालमा स्थापना गरिएको हो ।

गत वर्षको अप्रिलमा एशोसिएसन गैर नाफामूलक संस्थाका रुपमा दर्ता भएको थियो । सिएफए पूरा गरेका एनालिष्ट नेपालमा १२ जना मात्र छन् भने ३१७ विद्यार्थी अध्ययरत छन् । संस्थाले कानून नीतिनियम तर्जुमा गर्न सरोकारवालासँग छलफल गरेर नीति निर्माणकर्तालाई सुझाव दिनेछ ।

कार्यक्रममा लगानी बोर्डका सदस्य बालकृष्ण शिवाकोटीले लगानीबाट प्रतिफल निकाल्नु महत्वपूर्ण कुरा भएकाले प्रोफेसनल इन्भेष्टमेन्ट जस्ता संस्थाको भूमिका महत्व हुने उल्लेख गर्नुभयो । सिएफए एशिया प्यासिफिकका निक पोलार्डले प्रोफेसनल इन्भेष्टमेन्टले पूँजी बजारको नैतिक विकासमा सहयोग पु¥याउने बताउनुभयो ।

यसैबीच क्रियाशील चार्टर फाइनान्सियल एनालिष्ट (सिएफए)को सम्मेलन पनि सम्पन्न भएको छ । सम्मेलनमा चार्टर फाइनान्सियल एनालिष्टको क्षेत्रका सक्रिय स्वदेशी तथा विदेशी विज्ञ, यसमा अध्ययरत विद्यार्थी, यस क्षेत्रसँग सम्बन्धित नियामक निकाय धितोपत्र बोर्डका प्रतिनिधिका साथै बीमा, बैंकिङ, मर्चेण्ट बंैकिङ क्षेत्रका प्रतिनिधिसहित ३०० जनाको सहभागिता थियो । एशोसियसनका अध्यक्ष डा मनोज शाहीले साना लगानीकर्ताको हितका लागि र समग्र वित्तीय विश्लेषणका लागि संस्थाले आफ्ना गतिविधि बढाउने बताउनुभयो ।

प्रकाशित मिति : February 16, 2019 at 8:05 pm