८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026

सेयर बजारमा कृत्रिम कारोबार गराएर तीन अर्बको चलखेल

८ वैशाख, काठमाडौँ । धितोपत्र बजारमा सेयर मूल्य हेरफेर तथा गैरकानुनी कारोबारमा संलग्न रहेको आशंकामा विवादित व्यवसायी दीपक भट्टसहित विभिन्न व्यक्ति र कम्पनीमाथि अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

दीपक भट्ट र अर्का व्यवसायी शेखर गोल्छासहितको समूहले आफ्नो लगानी रहेको कम्पनीहरूमार्फत सेयर बजारमा कृत्रिम कारोबार गराएर तीन अर्ब बढीको चलखेल गरेको खुलेको छ। एक प्रारम्भिक जाँचबुझ प्रतिवेदनले उनीहरूबाट धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका विभिन्न कसूर भएको औंल्याउँदै थप अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय पठाउन सुझाव दिएको हो।

नेपाल धितोपत्र बोर्डको अनुसन्धान प्रतिवेदन अनुसार भट्ट र भृकुटी स्टकका कार्यकारी प्रमुख संदिप चाचानको योजनामा रोहित गुप्ता, शेखर गोल्छा, सुलभ अग्रवाल, सुभी अग्रवाल, ऋषिराज मोर र राजबहादुर शाह मिलेर नेपालको सेयर बजारमा तीन अर्ब बढीको इन्साइडर ट्रेडिङ गरेर सेयरको कृत्रिम मूल्य वृद्धि गराएका छन्।

प्रतिवेदन अनुसार भट्टले धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा.लि.का कार्यकारी प्रमुख सन्दीप चाचानसँग मिलेर सेयर कारोबारमा अनियमितता गरेको देखिएको छ। उनीहरूले ऐनको दफा ९६ र ९८ अन्तर्गत पर्ने कसूर गरेको निष्कर्ष निकालिएको छ। उक्त कारोबारमा हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापिटल, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालय सेक्युरिटिज, एचएलआई लार्ज क्याप फण्ड लगायतका संस्थाको रकम प्रयोग भएको पनि प्रतिवेदनमा उल्लेख छ।

dainiki.com

प्रतिवेदनको निष्कर्षमा उनीहरूले विना पैसा नै उधारोमा अर्बौँको शेयर कारोबार गरेको, सेयरको कृत्रिम माग सिर्जना गरेर सेयरको बजार भाउ बढाएको, भट्टले आफू वास्तविक धनी रहेका वा आफ्नो नियन्त्रणमा रहेका विभिन्न कम्पनीहरूबिच सेयर ओसारपसार गरेर लाभ लिएको विस्तृत विवरण उल्लेख छ।

यस्तै, शुभी अग्रवाल, ऋषि राज मोर र राजबहादुर शाह समेत NRIC को सेयर मूल्य कृत्रिम रूपमा बढाउने कार्यमा संलग्न रहेको देखिएको छ। उनीहरूमाथि पनि ऐन अनुसार कारबाही गर्नुपर्ने प्रतिवेदनले औंल्याएको छ।

प्रतिवेदनको अर्को खण्डमा भट्टले ऐनको दफा ९४, ९५ र ९८ अन्तर्गतका कसूर गरेको उल्लेख छ भने सो कार्यमा सन्दीप चाचानको समेत सहयोग रहेको देखिएको छ। यसका आधारमा सम्बन्धित निकायलाई अनुसन्धान अघि बढाउन सिफारिस गरिएको छ।

त्यसैगरी, हिमालयन इन्भेस्टमेन्ट बैंकर र हिमालयन लाइफ इन्स्योरेन्सले NRIC को सेयर कारोबारमार्फत ऐनको दफा १४ र १५ उल्लंघन गरेको देखिएको छ। यस्तै हिमालय क्यापिटल, हिमालयन रिइन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले NLG को सेयर कारोबारमा अनियमितता गरेको आरोप पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

सूचीबद्ध कम्पनी एनएलजी इन्स्योरेन्सको सेयर मूल्य बढाउन विभिन्न संस्था र व्यक्तिहरू संगठित रूपमा सक्रिय भएको निष्कर्ष निकालिएको छ। यसमा हिमालयन इन्भेस्टमेन्ट बैंकर, हिमालयन रिइन्स्योरेन्स, एचएलआई लार्ज क्याप फण्ड, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ, लिबर्टी माइक्रो लाइफ लगायतको संलग्नता देखिएको प्रतिवेदनमा उल्लेख छ।

यसैबीच, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स (GMLI) को सेयर मूल्य वृद्धि गर्न शुभी अग्रवाल, ऋषि राज मोर र सन्दीप चाचानले मिलेमतोमा काम गरेको देखिएको छ। यसमा पनि अन्य संस्थाको सहयोग रहेको जनाइएको छ।

समग्रमा, प्रतिवेदनले धितोपत्र बजारमा संगठित रूपमा सेयर मूल्य हेरफेर भएको संकेत गर्दै सम्बन्धित सबै व्यक्ति र संस्थामाथि विस्तृत अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालेको छ। त्यसका लागि धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०३ अनुसार प्रहरी प्रधान कार्यालयलाई अनुसन्धानका लागि सिफारिस गरिएको छ। यस प्रकरणले नेपालको पूँजी बजारमा पारदर्शिता, नियमन र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।

प्रकाशित मिति : 00:40