१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

१६ लाख ठगी गरेको आरोपमा स्काई वाक टुर्स एण्ड ट्राभल्सका सञ्चालक पक्राउ

८ वैशाख, काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित स्काई वाक टुर्स एण्ड ट्राभल्स प्रा.लि. का सञ्चालक पक्राउ परेका छन्। ईलाम सूर्याेदय नगरपालिका–१२ तीनघरे घर भई हाल पेप्सीकोलामा बस्ने २३ वर्षीय निदोर्ष सापकोटा पक्राउ परेका हुन्। उनलाई आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले पेप्सीकोलाबाटै पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानको क्रममा सापकोटाले सामाजिक सञ्जाल फेसबूक, टिकटक र इन्स्ट्रागाममा स्काई वाक टुर्स एण्ड ट्राभल्स प्रा.लि. को पेजबाट वैदेशिक भ्रमणको लागि थाईल्याण्ड जान सम्पर्क गर्नु भनी विज्ञापन राखी ठग्ने गरेको खुलेको छ।

उनले थाईल्याण्डमा जान भिषा, हवाई टिकट, होटल बुकिङ, गाईड समेतको सुविधा भएको र सो भ्रमण प्याकेज १ हप्ताको हुन्छ भनी जानको लागि लाग्ने रकम उक्त प्रालिको नाममा पठाउन लगाई विभिन्न किसिमको बरबहानाहरू बनाई टार्ने झुलाउने कार्य गरी ठगी गरेको खुल्न आएको प्रहरीले जनाएकाे छ ।

साथै उनले नक्कली टिकट र भिसा बनाई झुक्यानमा पार्ने गरेको र हाल सम्म २६ जना पीडितहरूबाट १६ लाख ६० हजार रूपैयाँ ठगी गरेको समेत खुल्न आएको प्रहरीले जनाएकाे छ।  उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर
काठमाडौं पठाइएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : 13:52