२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

ओभरसियरको बाटो सर्भे गर्न जाँदा मृत्यु

३ फागुन, खलङ्गा । जुम्ला चन्दननाथ नगरपालिका निवासी एक ओभरसियरको विद्युत्को नहर बनाउने बाटो सर्भे गर्न जाँदा चिप्लिएर मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–१० निवासी निरज बिष्टको तिला गाउँपालिका–७ तुई भन्ने स्थानमा विद्युत्को नहर सर्भे गर्न जाँदा फागुन २ गते चिप्लिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

नहर सर्भेका क्रममा चिप्लँदा धेरै तल तिला नदीको छेउमा पुगेका बिष्ट उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएपछि मृत्यु घोषणा गरिएको प्रहरी जनाएको हो । तिला गाउँपालिकामा प्रतिनिधिसभा सांसद विकास कोष र तिला गाउँपालिकाको लगानीमा शुरुआत गरिएको करीब एक मेगावाटको विद्युत् निर्माण कार्यका लागि खटिएका ओभरसियर बिष्टको कामकै क्रममा मृत्यु भएको आफन्तले जनाएका छन् ।

तिला गाउँपालिकाअन्तर्गत एक मेगावाट स्तरको बिजुली निकाल्न सांसद विकास कोषको रु तीन करोड ९६ लाख र तिला गाउँपालिकाको रु ५० लाख विनियोजन भई काम तीव्र गतिमा अगाडि बढिरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 20:16