११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटकी सरस्वतीसहित ४ जना पक्राउ

११ चैत, काठमाडौं ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने कास्की रूपा गाउँपालिका-५ घर भएका ३६ वर्षीय बिकल पौडेल, काठमाडौं तारकेश्वर नगरपालिका-१६ बस्ने रूकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका-१२ घर भएका ४२ वर्षीय धनिराम बुढा, काठमाडौं टोखा नगरपालिका-१० बस्ने गुल्मी कालीगण्डकी गाउँपालिका-६ घर भएका ३७ वर्षीय काशिराम दर्जी र काठमाडौं टोखा नगरपालिका-८ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-५ घर भएका २५ वर्षीया सरस्वती भण्डारी रहेका छन् ।

पक्राउ परेकामध्ये बिकलले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, धनिरामले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १८ लाख रूपैयाँ, काशिरामले क्रोएशिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३ लाख २० हजार रूपैयाँ र सरस्वतीले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ४६ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिकललाई काठमाडौं महानगरपलिका-२८ बाट र धनिरामलाई काठमाडौं महानगरपालिका-६ बाट सोमबार तथा काशिरामलाई काठमाडौं टोखा नगरपालिका-१० बाट र सरस्वतीलाई काठमाडौं महानगरपालिका-३ बाट मंगलबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार १२:१९