९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

क्रिप्टो करेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

९ चैत, काठमाडौँ । प्रहरीले क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएका तीन युवालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले विज्ञप्ति मार्फत पक्राउ पर्ने तीनजनामध्ये एक भारतीय र दुई नेपाली रहेको र उनीहरूले ९१ लाख ८१ हजार ५१३.९६ अमेरिकी डलर क्रिप्टोमा कारोबार गरेको पाइएको जानकारी दिएको छ ।

पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज घर भई हाल काठमाडौंको बौद्ध जोरपाटी बस्ने ३१ वर्षीय नरेश रेउले, सर्लाहीको ईश्वरपुर घर भई हाल ललितपुरको नख्खु बस्ने ३० वर्षीया दीप्ती पोखरेल र भारतको पश्चिम बंगाल घर भई हाल ललितपुरको एकान्तकुना बस्ने ४१ वर्षीय प्रवेश अली रहेका छन ।

कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार प्रहरीले चैत ६ गते साढे २ बजे काठमाडौंको सामाखुसीबाट रेउलेलाई साढे ४ बजेतिर सामाखुसीबाट पोखरेललाई र  साँझ ७ बजे ललितपुरको एकान्तकुनाबाट अली पक्राउ परेका हुन । पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

 

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार ०६:३९