काठमाडौंको नागार्जुनबाट १ करोड १६ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ
२ चैत, काठमाडौं । काठमाडौंका नागार्जुन नगरपालिका–८ भिमढुंगाबाट हुण्डी तथा क्रिप्टो कारोबारमा संलग्न २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ का २८ वर्षीय सागर गिरी र सोही ठाउँका २८ वर्षीय प्रमोद प्रसाद धिताल रहेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनीहरूलाई १ करोड १६ लाख नगदसहित पक्राउ गरेको हो । अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा परिसरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट विभिन्न बैंकको विभिन्न व्यक्तिको नाममा रहेको ३ थान चेक बुक, विभिन्न व्यक्तिको नाममा काटेको रु. २७ लाख ३० हजार रुपैयाँको चेक ३ वटा र विभिन्न व्यक्तिको नाममा रहेको विभिन्न बैंकको ४ वटा एटिएम पनि बरामद भएको छ ।
यस्तै १ थान नागरिकता, २ चारपाङ्ग्रे सवारी, १ दुई पाङ्ग्रे सवारी साधन, १ सवारी दर्ता किताब, विभिन्न कम्पनीको ६ वटा मोबाइल फोन, ३१ वटा एनसेल र एनटीसीको सिमकार्ड, १ कम्प्युटर र बाइनान्स खातामा रहेको ७ हजार १सय ७५ दशमलव ३४ यूएसडीटी पनि बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार १७:१४













