३ चैत्र २०८२, मंगलवार | Tue Mar 17 2026

२२ करोड हिनामिनाका दोषी ठहर नेपाल सेयर मार्केट्सका तत्कालीन अध्यक्ष श्रेष्ठ पक्राउ

२ चैत, काठमाडौं ।  बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् । सर्वोच्च अदालतबाट करोडौंको जरिबाना र कैद सजाय सुनाइएका श्रेष्ठलाई सितापाईलाबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आइतबार नियन्त्रणमा लिएको हो ।

श्रेष्ठले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडसँग सम्बद्ध रही अनियमित एवम् गैरकानुनी तवरले निक्षेपकर्ता एवम् संस्थाको हित विपरीत हुने कार्य गरी बैंकिङ कसूरमा संलग्न रहेको हुँदा सर्वोच्च अदालतको २०८१ भदौ ५ गतेको फैसलाले श्रेष्ठलाई दुई वटा मुद्दामा क्रमशस् १९ करोड ४६ लाख १ हजार ६ सय ६२ रूपैयाँ ३९ पैसा जरिवाना, ३ वर्ष कैद र ३ करोड २१ लाख ३९ हजार ६ सय ८१ रूपैयाँ ५१ पैसा जरिवाना तथा ३ वर्ष कैद सजाय ठहर गरेको थियो ।

काठमाडौं महानगरपालिका वडा नं। २४ वटु स्थायी घर भई हाल नागर्जुन नगरपालिका(५ सितापाईला बस्दै आएका ६९ वर्षीय श्रेष्ठ सजाय सुनाइए लगतै फरार रहेका थिए । केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले उनलाई नागार्जुन नगरपालिका(५ सितापाईलाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार १२:३८