वाणिज्य बैंकहरुले चैत महिनाका लागि घटाए ब्याजदर, कुनको कति ?
१ चैत, काठमाडौं । वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको छ। फागुन महिनामा ४.५६ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर चैतमा ४.४९ प्रतिशत विन्दुमा झरेको छ। यस्तो निक्षेपमा बैंकहरुको अधिकतम औषत ब्याजदर ०.०७ प्रतिशतविन्दु घटेको हो।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये ६ बैंकहरुले ब्याजदर घटाउँदा औषत ब्याजदर घट्न पुगेको हो । १४ वाणिज्य बैंकहरुले भने व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा फागुन महिनाकै दरलाई निरन्तरता दिएका छन् । त्यस्तै, बैंकहरुले संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ०.०३ प्रतिशत विन्दुले घटाएका छन् ।
चैत महिनाका लागि सबैभन्दा बढी ब्याजदर घटाउने बैंकमा नेपाल बैंक रहेको छ । सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.६ प्रतिशत विन्दुले घटाएको हो । त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकले पनि चैत महिनाका लागि ब्याजदर घटाएका हुन् ।
नेपाल बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दतिमा ४.५ प्रतिशत कायम गरेको छ । जुन फागुन महिनामा ५.१ प्रतिशत रहेको थियो । त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकले चैत महिनाका लागि ४.११ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुन महिनाका लागि यो बैंकको यस्तो ब्याजदर ४.२५ प्रतिशत रहेको थियो । त्यस्तै चैत महिनाका लागि कुमारी बैंकको ब्यजदर ४.१२ प्रतिशत निर्धारण गरेको छ । फागुन महिनामा बैंककाे यस्तो ब्याजदर ४.४३ प्रतिशत रहेको थियो ।
चैत महिनाका लागि कृषि विकास बैंकले व्यक्तिगत मुद्दतिको ब्याजदर ४.१५ प्रतिशत कायम गरेको छ । फागुन महिनामा बैंककाे मुद्दतिको ब्याजदर ४.२५ प्रतिशत रहेको थियो । त्यस्तै प्राइम बैंकले चैत महिनाका लागि ४.१५ प्रतिशत ब्याजदर घोषणा गरेको छ । फागुन महिनामा बैंककाे ब्याजदर ४.२५ प्रतिशत रहेको थियो । त्यस्तै ग्लोबल आईएमई बैंकले चैत महिनाका लागि ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुन महिनामा बैंकको यस्तो ब्याजदर ४.७५ प्रतिशत रहेको थियो ।
त्यस्तै चैत महिनाका लागि नेपाल एसबिआई बैंकले ४.२५ प्रतिशत ब्याजदर ताेकेकाे छ । फागुन महिनामा पनि यो बैंकले सोही दरमा व्यक्तिगत मुद्दतिमा ब्याज दिएको थियो । त्यस्तै एभरेष्ट बैंकको चैत महिनाका लागि ४.२५ प्रतिशत, सिद्धार्थ बैंकको ४.२५ प्रतिशत कायम गरेकाे छ । यी बैंकले फागुन महिनामा पनि सोही दरमा ब्याजदर कायम थियाे ।
त्यस्तै चैत महिनाका लागि माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइनज बैंक, सानिमा बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ब्याजदर ४.५ प्रतिशत निर्धारण गरिएको छ । यी बैंकको फागुन महिनामा पनि व्यक्तिगत मुद्दतिमा सोही दरको ब्याजदर तोकेका थिए । त्यसैगरी चैत महिनामा प्रभु बैंक र नबिल बैंकले ब्याजदर ४.५५ प्रतिशत तोकेका छन् । फागुन महिनामा पनि यी बैंकको ब्याजदर सोही दरमा थियो । त्यस्तै चैत महिनाका लागि हिमालय बैंक, राष्ट्रि वाणिज्य बैंक, एनआइसी एशिया बैंक र एनएमबी बैंकले व्यक्तिगत मुद्दतिमा ५ प्रतिशत ब्याजदर तोकेका छन् । फागुन महिनामा पनि यी बैंकहरुको व्यक्तिगत मुद्दतिको ब्याजदर सोही दरमा थियो ।
प्रकाशित मिति : १ चैत्र २०८२, आईतवार १०:१९










