२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

२९ फागुन, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ बस्ने चितवन भरतपुर महानगरपालिका-१५ घर भएकी ४९ वर्षीया कमला देवी सुनुवार, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बस्ने सिन्धुली कमलामाई नगरपालिका-७ घर भएकी २९ वर्षीया सविना खड्का र काठमाडौं टोखा नगरपालिका-११ बस्ने काठमाडौं दक्षिणकाली नगरपालिका-९
घर भएका ४१ वर्षीय अम्बर गुरूङ रहेका छन् ।

पक्राउ मध्ये कमलाले क्रोएशिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ, सविनाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र अम्बरले क्रोएशिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कमलालाई काठमाडौं महानगरपालिका-१५ बाट र सविनालाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बाट बुधबार तथा अम्बरलाई काठमाडौं महानगरपालिका-१२ बाट बिहीबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार १३:१३