११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

विदेशी विनिमय सञ्चिति ३३ खर्ब नाघ्यो, २१ महिनाको आयात धान्ने

२७ फागुन, काठमाडौँ । नेपालमा विदेशी विनिमय सञ्चिति उल्लेख्य रूपमा बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २३.३ प्रतिशतले बढेकाे हाे ।

२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८२ माघ मसान्तमा ३३ खर्ब ०२ अर्ब ६६ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा माघ मसान्तसम्म १६.७ प्रतिशतले वृद्धि भई २२ अर्ब ७६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।

२०८२ असार मसान्तमा २४खर्ब १४ अर्ब ६४ करोड रहेको राष्ट्र बैंकमा रहेको विदेशी विनिमय सञ्चिति माघ मसान्तसम्म २१.२ प्रतिशतले वृद्धि भई रु.२९२६ अर्ब ९९ करोड पुगेको छ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति पनि उच्च दरले बढेको छ। नेपाल राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी मुद्रा सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ माघ मसान्तसम्म ४२.८ प्रतिशतले वृद्धि भई ३ खर्ब ७५ अर्ब ६७ करोड पुगेको छ।

२०८२ माघ मसान्तसम्म कायम रहेको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.३ महिनाको वस्तु आयात र १८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ।

यसैगरी विदेशी विनिमय सञ्चिति र विभिन्न मुद्राप्रदायबीचका अनुपातहरू पनि सुधार भएका छन्। माघ मसान्तमा विदेशी विनिमय सञ्चिति र मुद्राप्रदायबीचका अनुपातहरू क्रमशः ५४.१ प्रतिशत, १५०.२ प्रतिशत र ३९.७ प्रतिशत रहेका छन्। २०८२ असार मसान्तमा भने उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए।

प्रकाशित मिति : March 11, 2026 at 6:03 pm