राष्ट्रपति भण्डारीबाट वसन्त श्रवण
२७ माघ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा आज बिहान ८ः२४ बजेको शुभसाइतमा वसन्त श्रवण गर्नुभयो । हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्नुभएको थियो ।

श्रीमद्भागवत महापुराणमा भगवान् श्रीकृष्णको खोजीमा रहेकी प्रेमिका राधा र उनका सखीहरूले वसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएर कृष्ण भगवान्को आराधना गरेको प्रसङ्ग उल्लेख छ । वसन्त पञ्चमीको दिनदेखि वसन्त ऋतुको शुरुआत हुने र त्यससँगै रुख बिरुवामा नयाँ पालुवा पलाउने गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, प्रधानसेनापति पूर्णचन्द्र थापा, गृहमन्त्रालयका सचिव प्रेमकुमार राई, काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकद्वय पनि वसन्त श्रवणका लागि हनुमानढोका पुग्नुभएको थियो ।
त्यस अवसरमा नेपाली परम्परागत लोकबाजा पञ्चेबाजा बजाइएको थियो भने नेपाली सेनाका विभिन्न गणका निशानसमेत प्रस्तुत गरिएको थियो ।


प्रकाशित मिति : 11:30









