१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

नबिल बैंकले सुरु गर्याे अपोइन्टमेन्ट बैंकिङ सेवा

१२ फागुन, काठमाडौं। नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ प्रणालीको सुरुवात गरेको छ । सेवाग्राहीको समय बचत तथा बैंकिङ सेवालाई अझ सहज बनाउन ‘अपोइन्टमेन्ट बैंकिङ सेवा’ सुरु गरेको बैंकले जनाएकाे छ।

बैंकका अनुसार अब ग्राहकहरूले आफ्नो अनुकूल समय छानेर अग्रिम अपोइन्टमेन्ट बुक गर्न सक्नेछन्। यस सुविधामार्फत बैंकमा लामो समय कुर्नुपर्ने झन्झटबाट बच्न सकिने र छिटो तथा व्यवस्थित रूपमा सेवा लिन सकिने बैंकले जनाइएको छ।

बैंकले सार्वजनिक गरेको सूचनाअनुसार “समयको सही उपयोग गर्दै, बुक गरौं अपोइन्टमेन्ट” भन्ने नारासहित यो सेवा सुरु गरिएको हो। ग्राहकहरूले विभिन्न बैंकिङ सेवाका लागि पूर्व–अपोइन्टमेन्ट लिएर शाखामा पुग्न सक्नेछन्। यो सुविधा नबिल बैंकको कौशलटार, बौद्ध, नयाँ बानेश्वर, मैतीदेवी, काँडाघारी, बिजुली बजार, तीनधारा, ललितपुर, घण्टाघर, कुमारीपाटी, महाराजगञ्ज, न्यूरोड, त्रिपुरेश्वर शाखामा उपलब्ध रहेकाे बैंकले जनाएकाे छ ।

यस सेवाबाट विशेषगरी व्यस्त कार्यतालिका भएका ग्राहकहरूलाई फाइदा पुग्ने विश्वास बैंकले गरेको छ। नबिल बैंकले डिजिटल तथा प्रविधिमैत्री सेवामा जोड दिँदै ग्राहकलाई सरल, सुरक्षित र छिटो बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्य राखेको जनाएको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार १२:५७