वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ४४ लाख ठगी गर्ने तीन जना पक्राउ
६ फागुन, काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिने भन्दै रु ४४ लाख ७० हजार ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–८ बस्ने २६ वर्षीया सरस्वती श्रेष्ठ, काठमाडौँ महानगरपालिका–३० बस्ने ३८ वर्षीय दीपेश श्रेष्ठ तथा खोटाङ केपिलासगढी गाउँपालिका–२ बस्ने ४८ वर्षीय मनिराज राई रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पक्राउ परेकामध्ये सरस्वती श्रेष्ठले जापान पठाउने भन्दै रु २४ लाख, दीपेश श्रेष्ठले आइसल्याण्ड पठाउने भन्दै रु १७ लाख तथा मनिराज राईले अल्बानिया पठाउने भन्दै रु तीन लाख ७० हजार रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको भन्नै पीडितहरुको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”
पक्राउ परेका तीनै जनामाथी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता कार्कीले बताउनुभयो ।
प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार १३:४०










