२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

दक्षिण कोरियाका पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद सजाय

२९ माघ, सियोल । दक्षिण कोरियाका पूर्वगृहमन्त्री ली साङ–मिनलाई सन् २०२४ मा तत्कालीन राष्ट्रपति युन सुक योलले घोषणा गर्नुभएको संक्षिप्त मार्सल ल कार्यान्वयनमा सहयोग गरेको अभियोगमा बिहीबार सात वर्षको जेल सजाय सुनाइएको छ ।

उहाँविरुद्धको फैसला सोही सियोल अदालतका फरक न्यायाधीशबाट आएको हो । यो राष्ट्रपति युनविरुद्ध दायर विद्रोहसम्बन्धी मुद्दामा निर्णय आउनुभन्दा एक साताअघि सार्वजनिक भएको हो । युनमाथि लागेको विद्रोहको अभियोगमा अभियोजनकर्ताहरूले मृत्युदण्डको माग गरिरहेका छन् ।

अदालतले गृह मन्त्रालयको नेतृत्व सम्हाल्नुभएका लीले मार्सल ल कार्यान्वयनमा सहयोग गरेको, साथै सरकारको नीतिको आलोचना गर्ने सञ्चारमाध्यमहरूलाई पानी र बिजुली आपूर्ति काट्न प्रहरी र अग्नि नियन्त्रक प्रमुखहरूलाई आदेश प्रवाह गरेको ठहर गरेको छ । यद्यपि, राष्ट्रिय सभाका सांसदहरूले सैन्य र प्रहरी नाकाबन्दी तोड्दै सर्वसम्मत रूपमा मार्सल ल हटाउने निर्णय गरेपछि ती निर्देशनहरू कार्यान्वयनमा जान सकेका थिएनन् ।

लीले भने सञ्चारमाध्यमहरूलाई उपयोगिता सेवा कटौती गर्न कुनै निर्देशन प्राप्त नगरेको वा जारी नगरेको दाबी गर्नुभएको थियो । उहाँले राष्ट्रिय फायर एजेन्सीका पूर्वआयुक्त जनरल हेओ सेओक–गोनसहितका अधिकारीहरूको गवाही अस्वीकार गर्नुभएको थियो, जसमा उहाँले फोनमार्फत त्यस्ता आदेश दिएको भनिएको थियो । साथै, मार्सल ल घोषणा गर्ने षड्यन्त्र वा योजना बनाएको आरोप पनि उहाँले अस्वीकार गर्नुभएको थियो ।

न्यायाधीश रयु क्युङ–जिनले अन्य अधिकारीहरूको गवाही, सुरक्षा क्यामेरा दृश्य र उपलब्ध प्रमाणहरूले लीले युनको आदेश पालना गर्ने प्रयास गरेको स्पष्ट देखाएको बताउनुभयो । उहाँका अनुसार मार्सल ल कार्यान्वयनमा लीले महत्त्वपूर्ण भूमिका खेलेको तथ्य निर्विवाद छ ।

तर पर्याप्त प्रमाण अभावका कारण अदालतले शक्तिको दुरुपयोगसम्बन्धी अर्को आरोपबाट उहाँलाई मुक्त गरेको छ । फैसलापछि ली हल्का मुस्कानसहित मौन रहनुभएको थियो । उहाँका कानूनी टोलीले तत्काल अपिल गर्ने वा नगर्नेबारे कुनै प्रतिक्रिया दिएको छैन । अभियोजनकर्ताहरूले उहाँका लागि १५ वर्ष जेल सजाय माग गरेका थिए ।

मार्सल ल प्रकरणमा दोषी ठहर हुने ली युनको मन्त्रिमण्डलका दोस्रो सदस्य हुनुहुन्छ । यसअघि पूर्वप्रधानमन्त्री हान डक–सूलाई २३ वर्ष जेल सजाय सुनाइएको थियो, जसविरुद्ध उहाँले अपिल गर्नुभएको छ ।

रूढीवादी नेता युनले मार्सल ललाई आफ्नो शासनको आवश्यक कदमका रूपमा बचाउ गर्नुभएको थियो । उहाँले उदारवादी दलहरूलाई ‘राज्यविरोधी शक्तिहरू’ भन्दै आफ्नो विधायी बहुमत प्रयोग गरेर एजेन्डा अवरुद्ध गरेको आरोप लगाउनुभएको थियो ।

पछि युनलाई पदबाट हटाइएको छ र उहाँले जुलाईदेखि हिरासतमा रहँदै विभिन्न आपराधिक मुद्दाहरूको सामना गरिरहनुभएको छ । तीमध्ये विद्रोहसम्बन्धी अभियोग सबैभन्दा गम्भीर मानिएको छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार १४:२१