२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

बागमतीका पूर्वमेयर थापासहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२८ माघ, काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका तत्कालीन मेयर भरत थापा सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार थापासहित १३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले थापाविरुद्ध ५८ करोड ६२ लाख १४ हजार ६५८ रुपैयाँ बिगो दाबी गरेको छ। सागरनाथ वन विकास परियोजनाअन्तर्गत पर्ने हाल ‘भरत ताल’ का रूपमा विकास गरिएको बागमती माछा पोखरी निर्माणका क्रममा वन पैदावर उत्खनन गरी बेचबिखन गरेर भ्रष्टाचार गरिएको अख्तियारको आरोप छ।

अख्तियारका अनुसार सात करोड ३८ लाख ९३ हजार ५०८ क्यूफिट वन पैदावर उत्खनन गरिएको थियो। उक्त परिमाणको वन पैदावरबाट उठ्नुपर्ने रोयल्टी तथा राजस्व रकम ५८ करोड ६२ लाख १४ हजार ६५८ रुपैयाँ बराबर रहे पनि कानुनबमोजिम राजस्व नउठाई आपसी मिलेमतोमा भ्रष्टाचार गरिएको आरोपपत्रमा उल्लेख छ।

यस मुद्दामा सागरनाथ वन विकास परियोजनाका तत्कालीन परियोजना प्रमुख विशाल घिमिरे, तत्कालीन निमित्त परियोजना प्रमुख देवेशमणि त्रिपाठी, राम किशोर यादव, प्रेमीलाल प्रसाद कलवार, तत्कालीन सहायक वन अधिकृतहरू चन्द्रकुमारी श्रेष्ठ, शिवेन्द्र प्रसाद चौधरी, कार्यालय प्रमुख जितेन्द्र कर्माचार्य तथा सहायक वन अधिकृत भोला यादवलाई पनि प्रतिवादी बनाइएको छ।

त्यस्तै, बागमती नगरपालिकाका तत्कालीन उपमेयर लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र तत्कालीन इन्जिनियर सागर पौडेलसमेत मुद्दाका प्रतिवादी रहेका छन्।

प्रकाशित मिति : February 11, 2026 at 6:02 pm