२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

ग्रामीण क्षेत्रमा वित्तीय पहुँच बढाउन राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारी

२८ माघ, काठमाडौं । ग्रामीण तथा अर्ध-शहरी क्षेत्रमा दिगो आर्थिक विकास गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारी भएको छ।

जर्मन विकास बैंक (केएफडब्लु) को सहयोगमा स्थापित ‘रिवल्भिङ फण्ड’ सञ्चालनका लागि दुई बैंकबीच माघ २७ गते मंगलबार सम्झौता भएको हो। यस कोषले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न र साना तथा मझौला उद्यमको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

समझदारी पत्रमा नेपाल राष्ट्र बैंकको तर्फबाट कामु निर्देशक शिखा अधिकारी रेग्मी र राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हस्ताक्षर गर्नुभयो। उक्त अवसरमा संघीय गणतन्त्र जर्मनीका राजदूत र नेपाल राष्ट्र बैंकका गभर्नर लगायत परियोजना तथा बैंक सम्बद्ध कर्मचारीहरूको उपस्थिति रहेको थियो। यो साझेदारीले दुर्गम क्षेत्रका उद्यमीहरूलाई सहुलियतपूर्ण वित्तीय सुविधा उपलब्ध गराउन बाटो खोलेको छ।

वि।सं। २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७७ वटै जिल्लाका सदरमुकामसहित दुर्गम क्षेत्रहरूमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ। बैंकले ३१३ वटा शाखा कार्यालय, ७१ वटा एक्सटेन्सन काउन्टर, ३२२ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङमार्फत ४७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार १७:२५