कञ्चनपुरका उद्योगी व्यवसायी भन्छन ‘नगरको समृद्धि र विकासका लागि सहकार्य गर्न तयार छौ’
२३ माघ, महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्त नगरपालिकाको विकास र समृद्धिका लागि सहकार्य गर्न नगरपालिका सधैैँ तयार भएको बताएका छन् । कञ्चनपुर उद्योग बाणिज्य संघको नव निर्वाचित समितिका पदाधिकारीहरुसित बुधबार नगरपालिका कार्यालयमा आयोजित छलफल कार्यक्रममा नगर प्रमुख विष्टले उद्योग बाणिज्य संघसित नगरपालिका सहकार्य गर्न तयार रहेको बताए ।
‘संघको नव निर्वाचित समितिलाई नगरपालिकालाई स्वागत गर्दैै बधाई ज्ञापन गर्छ, कार्यकाल सफलताको शुभ कामना व्यक्त गर्दछौ’ उनले भने,‘भीमदत्त नगरपालिकालाई समृद्ध बनाउन संघको सहयोगको अपेक्षा गरेका छौ, यसका लागि संघसित सहकार्य गर्न तयार छौ ।’

भीमदत्त नगरपालिकाले आर्थिक विकासका लागि तीन खम्बे अर्थ नीति अबलम्बन गर्दैै आएको उल्लेख गर्दै नगर प्रमुख विष्टले स्थानीय सरकारलाई निजी क्षेत्रको साथ र सहयोग चाहिने बताए ।
व्यवस्थित पार्किङ्ग, सवारी व्यवस्थापन, वसपार्क, व्यवसाय कर लगायतका विभिन्न क्षेत्रमा निजी क्षेत्रसित सहकार्य हुँदै आएको उल्लेख गर्दैै उनले संघलाई व्यवसाय कर संकलनमा सहयोग गर्न आव्हान गरे ।‘कर नगरको विकासमा प्रयोग हुन्छ, त्यसमा सहयोग गर्न आव्हान गर्छु’ उनले भने ।
नगर प्रमुख विष्टले पश्चिमी सीमा नाकालाई त्रिदेशीय नाका बनाउन संघीय सरकारसित पहल गर्र्दै आएका छन् । यसै गरी महाकाली नदीमा साहसिक जलयात्रा, जैविक मार्ग निर्माण, चक्रपथ निर्माण,आधुनिक वसपार्क निर्माण, पर्यटन पूर्वाधार निर्माण लगायतका कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढाएका छन् ।
स्थानीय तह निर्वाचन अघि दुई करोडसम्म आन्तरिक राजश्व हुने भीमदत्त नगरपालिकामा गत वर्ष ५ करोड राजश्व संकलन गरिएको थियो । चालु आर्थिक वर्षमा १३ करोड राजश्व संकलनको लक्ष्य राखिएको छ । कार्यक्रममा संघका अध्यक्ष जङ्ग बहादुर मल्लले व्यवसाय कर संकलन लगायतका विषयमा सहयोग गरिने बताए । उनले संघले नगरपालिकासित सहकार्य गरी जाने बताए ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी, उद्योग उपाध्यक्ष हेमराज जोशी लगायत संघका पदाधिकारी र सदस्यहरु सहभागी भएका छन् ।
प्रकाशित मिति : 20:37







