१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

साढे ११ प्रतिशत बढ्यो वाणिज्य बैंकहरुको नाफा, कुनकाे कति ?

१५ माघ, काठमाडाैं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। बैंकहरुले सार्वजनिक गरेको दोस्रो त्रैमासिकसम्मको विवरण अनुसार अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकहरुको नाफा ११.५१ प्रतिशतले  बढेको हो ।

यो अवधिमा २० वाणिज्य बैंकको नाफा ३० अर्ब ५९ करोड ३९ लाख ७ हजार रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको साेही अवधिमा बैंकको नाफा २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार रुपैयाँ रहेको थियो । २० बैंकहरुमध्ये ११ बैंकको नाफा बढेसँगै समग्र नाफा साढे ११ प्रतिशत बढ्न पुगेको हो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा सर्वाधिक नाफा आर्जन गर्ने बैंकमा नबिल बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले ६ महिनाको अवधिमा ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७१ प्रतिशत बढी हो।

दोस्रो नम्बमा रहेको ग्लोबल आइएमई बैंक रहेकाे छ । याे अवधिमा बैंकले ३ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको छ । याे नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५० प्रतिशत बढी हाे । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ३ अर्ब ५ करोड रहेको थियो । तेस्राेमा कुमारी बैंक रहेकाे छ । बैंकको नाफा ८८६ प्रतिशतले बढेर २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष सो अवधिमा भने बैंकको नाफा २७ करोड ५७ लाख रुपैयाँमा सीमित रहेको थियो ।

याे अवधिमा एभरेष्ट बैंकले २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ। त्यस्तै, याे अवधिमा प्राइम बैंकले २ अर्ब ४ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ७७ करोड, एनएमबि बैंकले१ अर्ब ६४ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ६१ करोड रुपैयाँ नाफा कमाएका छन् ।

पुस मसान्तसम्मको अवधिमा सानिमा बैंकको नाफा १६.६७ प्रतिशतले बढेर १ अर्ब ३९ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा १५०.२० प्रतिशतले बढेर १ अर्ब ३२ करोड, हिमालयन बैंकको नाफा १४.८९ प्रतिशतले घटेर १ अर्ब २९ करोड, नेपाल एसबिआई बैंकको नाफा १४.५६ प्रतिशतले बढेर १ अर्ब ३ करोड, प्रभु बैंकको नाफा २४.०८ प्रतिशतले घटेर १ अर्ब १ करोड र माछापुच्छ्रे बैंकको २५.२५ प्रतिशतले बढेर १ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।

साथै, कृषि विकास बैंकको नाफा २६.१२ प्रतिशतले घटेर ७० करोड ७४ लाख, सिटिजन बैंकको ४५.७८ प्रतिशतले घटेर ३५ करोड ८८ लाख र एनआईसी एशिया बैंकको १३.५४ प्रतिशतले घटेर १३ करोड ११ लाख रुपैयाँ पुगेको छ । त्यस्तै लक्ष्मी सनराइज बैंकको नाफा भने २७ करोड ३६ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

प्रकाशित मिति : January 29, 2026 at 12:06 pm