कुमारी बैंकको नाफा २ अर्ब ७२ करोड
१५ माघ, काठमाडाैं । कुमारी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ७२ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८८६.६२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी २७.६५ प्रतिशत बढेको छ । गत आवको सोही अवधिमा ५ अर्ब ३१ करोड ४० लाख रूपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी बढेर ६ अर्ब ७८ करोड ३५ लाख रूपैयाँ पुगेको हो । खुद फि तथा कमिसन आम्दानी २६.६५ प्रतिशत बढेर १ अर्ब ६० करोड ९२ लाख रूपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ३०.०६ प्रतिशत बढेर ९ अर्ब २१ करोड २९ लाख रूपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा ५०५.११ प्रतिशत बढेर ४ अर्ब ३६ करोड ६५ लाख रूपैयाँ पुगेको छ । याे अवधिमा बैंककाे वितरणायोग्य नाफा ८६ करोड २३ लाख रूपैयाँ रहेकाे छ ।
२६ अर्ब २२ करोड ५९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १६ अर्ब ४० करोड ५३ लाख रुपैयाँ छ । गत असार मसान्तमा ३ खर्ब ६४ अर्ब ६४ करोड रूपैयाँ रहेको बैंकको निक्षेप पुस मसान्तसम्ममा ३ खर्ब ७१ अर्ब ३८ करोड रुपैयाँ र कर्जा २ खर्ब ६० अर्ब ३२ करोड रूपैयाँबाट बढेर २ खर्ब ६५ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।
नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी बढेको छ । चालु आवको दोस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७४ पैसा छ । पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८.६३ गुणा रहेको छ ।
प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार १०:१७







