फेक रेस्क्यूमा ठगी गर्ने तीन कम्पनीका ६ जना पक्राउ
११ माघ, काठमाडाैँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पर्वतारोहण तथा ट्रेकिङका लागि आएका विदेशी पर्यटकलाई फेक रेस्क्यूमार्फत् ठगी गर्ने तीन वटा कम्पनी र त्यसका सञ्चालक तथा म्यानेजरलाई पक्राउ गरेकाे जनाएकाे छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै सीआईबीले माउन्टेन रेस्क्यू सर्भिस प्रालिले १२४८ जनामध्ये १७१ जनाको फेक रेस्क्यू गरेको जनाएकाे छ । योबाट उसले १० करोड बढी अमेरिकी डलर बीमा दाबी गरेको पाइएको सीआईबीले जनाएकाे छ ।

त्यस्तै, नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जना रेस्क्यू गर्दा ७५ जनाको फेक रेस्क्यू गरेको सीआईबीले जनाएकाे छ ।। उनीहरूले ८२ लाख डलर माग दाबी गरेको अनुसन्धानबाट खुलको छ ।
यसैगरी, एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिले ६०१ जनामध्ये ७१ पर्यटकको शंकास्पद रेस्कयू गरेको पाइएको हो । उनीहरूले यसबापत ११ लाख ५३ हजार अमेरिकी डलर माग दाबी गरेको पाइएको छ ।

यसरी ठगी गर्नेहरूमा माउन्टेन रेस्क्युबाट सञ्चालक जयराम रिमाल र म्यानेजर विवेक पाण्डे पक्राउ परेका छन् । यस्तै, नेपाल चार्टर सर्भिसका सञ्चालक रविन्द्र अधिकारी र म्यानेजर विवेकराज थपलिया पक्राउ परेका छन् । यसैगरी, एभरेष्ट एक्पेरिएन्स एण्ड एसिस्टका सञ्चालक मुक्ति पाण्डे र सञ्चालक तथा म्यानेजर सुभाष केसी रहेका सीआईबीले जनाएकाे छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आईतवार १८:०२






