फेक रेस्क्युमा सिआइबीको बिग अप्रेसन, पत्रकार सम्मेलन गरेर अभियुक्तहरू सार्वजनिक गरिँदै
११ माघ, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नेपालमा पदयात्रा तथा पर्वतारोहणका क्रममा हुने फेक रेस्क्यु सम्बन्धी अनुसन्धानको प्रगति सार्वजनिक गर्न प्रेस मिट आयोजना गरेको छ ।
सिआइबीले आइतबार फेक रेस्क्युमा गरिएको बिग अप्रेसनबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको जनाएको छ । सिआइबी स्रोतका अनुसार साँझ ५ बजे गर्न लागिएकाे पत्रकार सम्मेलनमा केही अभियुक्तहरू समेत सार्वजनिक गर्न लागिएको छ ।
फेक रेस्क्यु प्रकरण नेपालका पर्यटन, बीमा तथा उड्डयन क्षेत्रसँग जोडिएको जटिल र बहुस्तरीय ठगी नेटवर्कको रूपमा लिइन्छ। विशेष गरी उच्च हिमाली क्षेत्रमा विदेशी पर्यटकलाई उद्धारको नाममा गरिएको अनावश्यक हेलिकप्टर उडान र बीमा दाबीमार्फत ठूलो आर्थिक अनियमितता हुँदै आएको आरोप लामो समयदेखि उठ्दै आएको छ।

फेक रेस्क्यु के हो ?
फेक रेस्क्यु भन्नाले वास्तविक स्वास्थ्य समस्या वा आपत्कालीन अवस्था नभएको अवस्थामा पनि पर्यटकलाई उद्धार गरिएको झुटो विवरण तयार गरी हेलिकप्टर उडान गराउने, त्यसपछि बीमा कम्पनीबाट रकम दाबी गर्ने प्रक्रियालाई बुझिन्छ।
यसमा, ट्रेकिङ एजेन्सी, हेलिकप्टर कम्पनी, अस्पतालरडाक्टर, बीमा दलालजस्ता विभिन्न पक्षको मिलेमतो हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
किन गम्भीर छ यो मुद्दा ?
विश्लेषकहरूका अनुसार फेक रेस्क्यु आर्थिक ठगी मात्र नभई नेपालको पर्यटन क्षेत्रको विश्वसनीयतामाथि ठूलो आघात हो। यसले पर्यटनको समग्र छविमा असर पार्ने काम गर्दछ । नेपाल सुरक्षित र जिम्मेवार पर्यटन गन्तव्यको रूपमा विश्व बजारमा चिनिन्छ। तर नक्कली उद्धार जस्ता घटनाले नेपाललाई ठगी हुने गन्तव्यका रूपमा चित्रित गर्ने जोखिम बढाएको छ।
यसले बीमा कम्पनीहरूले अत्यधिक दाबीका कारण प्रिमियम दर बढाउने वा नेपाल कभर गर्न नचाहने अवस्था आउन सक्छ। यसले वास्तविक जोखिममा परेका पर्यटकलाई पनि असर पार्न सक्छ। अवैध उडान र मिलेमतोबाट हुने कारोबारले कर छली र अवैध लाभको समस्या सिर्जना गरेको देखिन्छ।
फेक रेस्क्यु प्रकरण नेपालको पर्यटन उद्योगमा सुधारको अवसर पनि हो। यदि अनुसन्धान निष्पक्ष र प्रभावकारी रूपमा अघि बढ्यो भने नेपालले पर्यटन क्षेत्रमा पारदर्शिता र विश्वसनीयता कायम गर्ने दिशामा ठूलो कदम चाल्न सक्छ। तर यदि यसलाई दबाबमा कमजोर पारियो भने नेपालले अन्तर्राष्ट्रिय स्तरमा ठूलो विश्वास संकट सामना गर्नुपर्नेछ।

प्रकाशित मिति : ११ माघ २०८२, आईतवार १६:३७






