छ महिनाभित्र बाँकेमा ८६ नयाँ कुष्ठरोगी
१० माघ, बाँके । चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका ८६ जनामा कुष्ठरोग पुष्टि भएको छ । साउनदेखि पुससम्मको अवधिमा साइनिङ अस्पताल आइएनएफ नेपालमा उपचार तथा परीक्षणका क्रममा ती नयाँ कुष्ठरोगी पहिचान भएका हुन् ।
७३औँ विश्व कुष्ठरोग दिवसको अवसर पारेर आयोजित अन्तरक्रिया कार्यक्रममा अस्पतालका प्रमुख मङ्गलबहादुर थारुले नेपालका विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतबाट उपचारका लागि आएका नागरिकमासमेत कुष्ठरोग देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार छ महिनाको अवधिमा फेला परेका ८६ जना नयाँ कुष्ठरोगीमध्ये ५७ पुरुष र २९ जना महिला रहेका छन् ।
तीमध्ये बाँकेका ३६, बर्दियाका १२, जाजरकोट, रुकुम र कैलालीका पाँच–पाँच, अछामका तीन, दैलेखका दुई र दाङ, प्यूठान, रोल्पा र सल्यानका एक–एक जना रहेका प्रमुख थारुले जानकारी दिनुभयो । उहाँका अनुसार १४ जना भारतीय नागरिकमा पनि कुष्ठरोग पुष्टि भएको छ ।
अस्पतालमा कुष्ठरोगको आशङ्कामा चेकजाँचका लागि आएका ३४२ मध्ये ८६ जनामा रोग पुष्टि भएको हो । स्मियर परीक्षण (सूक्ष्मदर्शक यन्त्रद्वारा गरिने सुरक्षित र छिटो परीक्षण विधि) मार्फत परीक्षण गर्दा ५६ जनामा पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।
अस्पतालको अन्तरङ्ग सेवाबाट सोही अवधिमा ५८ पुरुष र २३ महिला गरी ८१ जनाले सेवा लिएका छन् । स्वास्थ्य समस्या पहिचान तथा अनुगमनका लागि प्रयोगशालामा १० हजार ७९५ वटा नमूना परीक्षण गरिएको छ भने अपाङ्गता रोकथाम तथा सहयोगका लागि १०३ जोडा विशेष जुत्ता वितरण गरिएको छ । साथै ६९ जनालाई फिजियोथेरापी सेवा प्रदान गरिएको अस्पतालका प्रमुख थारुले जानकारी दिनुभयो ।
कुष्ठरोग नियन्त्रण र जनचेतना अभिवृद्धिका लागि २३ जना सरकारी विद्यालयमा कार्यरत नर्सलाई आधारभूत कुष्ठरोग तालिम दिइएको छ । त्यसैगरी स्वयं सहायता समूहका २९ जना सदस्यलाई कुष्ठरोग, स्वयं हेरचाह तथा बचत–ऋण परिचालनसम्बन्धी तालिम प्रदान गरिएको छ ।
सङ्घीय सरकारका स्वास्थ्य संस्थासँग आवद्ध १९० जना महिला स्वास्थ्य स्वयंसेविकालाई समेत क्षमता अभिवृद्धि तालिम दिइएको अस्पतालले जनाएको छ । समुदायस्तरमा जनचेतना विस्तार गर्ने उद्देश्यले २२ वटा आमा समूहका करिब छ सय सदस्यलाई अभिमुखीकरण गरिएको छ भने विभिन्न विद्यालयमा सञ्चालन गरिएका कक्षाबाट ९२१ जना विद्यार्थी लाभान्वित भएका छन् ।
यसैगरी दुई वटा क्याम्पसका ७५ जना विद्यार्थी तथा नरैनापुर गाउँपालिकाका २८ जना जनप्रतिनिधिलाई पनि कुष्ठरोगसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको अस्पतालका प्रमुख थारुले बताउनुभयो । समुदायमै कुष्ठरोग पहिचानका लागि दुई स्थानमा गरिएको परीक्षणमा ५१० जनामध्ये नौ जनामा नयाँ कुष्ठरोग पुष्टि भएको छ । साथै ४२ जना कुष्ठरोगीको सम्पर्कमा रहेका दुई हजार ४५५ परिवार तथा छिमेकीको परीक्षण गर्दा थप बिरामी पनि पहिचान भएका उहाँले उल्लेख गर्नुभयो ।
हाल साइनिङ अस्पतालमा कुष्ठरोगसम्बन्धी अनुसन्धानात्मक कार्यसमेत भइरहेको छ । बिएनएमटी नेपालको आर्थिक सहयोगमा कुष्ठरोगको किटाणुको आनुवंशिक परीक्षण सञ्चालन भइरहेको जनाउँदै प्रमुख थारुले हालसम्म १३१ वटा अध्ययन नमूना सङ्कलन भइसकेको बताउनुभयो ।
कार्यक्रमका सहजीकर्ता तथा अस्पतालका प्रशासन अधिकृत नरेन्द्र साउदले समुदायमा कुष्ठरोगबारे चेतना बढाउन, विद्यमान चुनौतीलाई सामना गर्न र कुष्ठरोगमुक्त नेपाल निर्माणमा पत्रकारको भूमिका महत्वपूर्ण हुने भएकाले अन्तरक्रिया आयोजना गरिएको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले समाजमा कुष्ठरोगलाई अझै पनि सामाजिक कलङ्कका रूपमा बुझ्ने गरिएको उल्लेख गर्दै यस्ता भ्रम चिर्न सञ्चारमाध्यम र पत्रकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
गत आर्थिक वर्षमा साइनिङ अस्पतालमा विभिन्न जिल्लाबाट आएका १७४ नयाँ कुष्ठरोगी फेला परेका थिए । तीमध्ये ९३ जना बाँके जिल्लाका थिए । गत आवको सोही छ महिनामा ५८ जना नयाँ बिरामी भेटिएकामा यसवर्ष सोही अवधिमा उक्त सङ्ख्या बढेर ८६ पुगेको छ । चौबिस शय्या क्षमताको यस अस्पतालमा हाल १४ जना बिरामी भर्ना भएर उपचाररत छन् ।
प्रकाशित मिति : १० माघ २०८२, शनिबार १९:२५






