सशस्त्र प्रहरी बल नेपालको गौरवपूर्ण २५ बर्षे यात्रा
९ माघ, काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले आज माघ ९ गते आफ्नो २५औं सशस्त्र प्रहरी दिवस (रजत महोत्सव) मनाउँदै छ । देश र जनताको सेवा सुरक्षाको खातिर संगठनमा आवद्ध राष्ट्रसेवकहरुको अथक मेहनत र कर्मले आज संगठनले आफ्नो गौरवपूर्ण २५ बर्षे यात्रा पूरा गरेको छ ।
‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ मूल नारासहित तत्कालिन समयको बिषम् परिस्थितिमा देशमा शान्ति र सुरक्षा कायम गरी जनताको जिउ, धन र स्वन्त्रताको रक्षा गर्नको लागि तत्कालीन श्री ५ को सरकारले वि.सं. २०५६ पुस २९ गते अद्र्धसैनिक संगठन स्थापना गर्ने लक्ष्य अनुरुप वि.सं. २०५६ माघ १७ गते तत्कालिन गृहसचिव खेमराज रेग्मीको संयोजकत्वमा गठित ‘सशस्त्र प्रहरी सेवा गठन सुझाव कार्यदल–२०५६’ ले दिएको सुझाव बमोजिम वि.सं. २०५७ माघ ९ गते तत्कालीन श्री ५ महाराजधिराज बीरेन्द्र बीर विक्रम शाहदेवबाट ‘सशस्त्र प्रहरी अध्यादेश, २०५७’ जारी भएसँगै वि.सं. २०५७ माघ ९ गते सशस्त्र प्रहरी बलको विधिवत रुपमा स्थापना भएको थियो भने तत्कालिन गृहमन्त्री गोविन्दराज जोशीको पहलमा वि.सं. २०५८ साल कार्तिक ८ गते परिस्थितिको आवश्यकता अनुसार नेपाली सेना र नेपाल प्रहरीको बीचमा एक अर्को शक्तिको खाँचो महसुस गरी सुरुमा नेपाली सेना र नेपाल प्रहरीबाट जनशक्ति स्थानान्तरण गरी सशस्त्र प्रहरी बलको गठन गरिएको थियो ।
गठनसँगै तत्कालिन सरकारले देहाय बमोजिमका सशस्त्र प्रहरी बल नेपालको सञ्चालन गर्न सशस्त्र प्रहरी ऐन २०५८ को परिच्छेद २, दफा (६) को उपदफा (१) मा नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र संघर्ष नियन्त्रण गर्न, कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि नियन्त्रण गर्न, कुनै भागमा भएको वा हुन सक्ने आतंककारी गतिविधि नियन्त्रण गर्ने जस्ता १३ कार्यादेश निर्धारण गरेको थियो पछि नेपाल सरकार मन्त्रिपरिषद्को २०६९ असोज ११ गतेको निर्णयानुसार राजश्व, भन्सार तथा औद्योगिक सुरक्षा गर्न र नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ पौष १५ गतेको निर्णयानुसार रेलवे सुरक्षा गर्न कार्यादेश थप भएको थियो ।
स्थापना पश्चात काठमाडौँ जिल्लाको महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको परिसरमा सशस्त्र प्रहरी बलको प्रधान कार्यालय स्थापना र कृष्णमोहन श्रेष्ठलाई सशस्त्र प्रहरी महानिरीक्षकमा नियुक्त गरिएको थियो । स्थापनको छोटो अवधिमै सशस्त्र प्रहरी बल नेपालले आफ्नो अभिभावक गुमाएको थियो । संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठको प्रातकालिन भ्रमणको दौरान २०५९ साल माघ १२ गते गोली प्रहारबाट बीरगति प्राप्त गर्नुभएको थियो । उहाँसँगै उहाँकी धर्मपत्नी तथा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष नुडुप श्रेष्ठ र अंगरक्षक सुर्यप्रसाद रेग्मीले साहदत प्राप्त गनुभएको थियो ।
यो २५ बर्षे ऐतिहासिक यात्रामा सशस्त्र प्रहरी बल नेपालले राज्यप्रदत्त कार्यादेशहरू प्रभावकारी ढङ्गले सम्पादन गर्दै संगठनको संरचनागत विस्तार, तालिम, जनशक्ति विकास र फौजी अनुशासनमा विशेष जोड दिँदै आएको छ ।
हालका दिनमा सशस्त्र प्रहरी बल नेपालले BIRD (Border Security, Internal Security, Revenue Support and Disaster Management) अवधारणा अनुसार अगाडी बढिरहेको छ । जस अन्तर्गत सीमा सुरक्षा र विपद् व्यवस्थापनलाई बढी जोड दिएको छ ।
वि. सं. २०६१ साल मंसिर १ गतेको निर्णयानुसार तत्कालिन शाही नेपाली सेनाको सट्टा प्रमुख भन्सार नाकाहरु सुरक्षाको लागि तैनाथ भएको थियो । वि.सं. २०६३ फागुन ८ गतेको डेडिकेटेड रुपमा सीमा सुरक्षाको जिम्मेवारी पाएको मन्न सकिन्छ । सशस्त्र प्रहरी बल नेपालले ७ वटा रिजर्भ गण, ४५ वटा सीमा सुरक्षा कार्यालय र २ सय १५ वटा बोओपी (२ सय ४ वटा नेपाल-भारत सीमातर्फ र ११ वटा नेपाल-चीन सीमातर्फ) मार्फत सीमा सुरक्षाको जिम्मेवारी निर्वाह गर्नुको साथै राजश्व संकलनमा समेत सहयोग पु¥याएको छ ।
नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई प्रभावकारी बनाउन २०८० साल कार्तिक १ गतेदेखि सशस्त्र प्रहरी बल नेपाल सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमको सुरुवात गरेको थियो । जस अन्तर्गत Border Area Development Program मार्फत सीमा ईलाकाको बाटोघाटो सरसफाई तथा स्तरोन्नती, अन्य विकास निर्माणका कार्यहरुमा सहयोग, सचेतनामूलक कक्षाहरु, स्वास्थ्य शिविर र सीमावासी जनताहरुमा सिप तथा स्वरोजगारमूलक कार्यक्रमहरु लगायत बिकाससँग सम्बन्धित विभिन्न क्रियाकलापहरु गर्दै सीमा सुरक्षाको जिम्मेवारी निर्वाह गरिरहेको छ ।
सशस्त्र प्रहरी बल नेपालले विपद व्यवस्थापनमा विशेषतः विपद प्रतिकार्यमा अब्बल सुरक्षा फौजको रुपमा रहेको छ । विपद व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले २०६८ साल मंसिर २२ गते चितवन जिल्लाको कुरिनटार विपद् व्यवस्थापन तालिम शिक्षलय र पर्वातारोहणको क्रममा प्रतिकूल मौसमको कारण तथा भारी हिमपातमा हुनसक्ने दुर्घटनाहरुमा उद्धारका लागि दक्ष जनशक्ति उत्पादन गर्न मनाङ पर्वतीय उद्धार तालिम शिक्षालयको समेत स्थापना गरेको छ ।
सशस्त्र प्रहरी नेपालले आन्तरिक सुरक्षाको जिम्मेवारी पनि आफुलाई अब्बल तुल्याएको छ । यसको साथै समय, काल र परिस्थितिको मूल्यांकन गरी नेपाल सरकारबाट प्राप्त थप कार्यादेशहरुको पालनामा खरो उपस्थिति जनाउँदै आफ्नो ओजपूर्ण गौरवमय २५ बर्षे यात्रा पूरा गरेको छ सशस्त्र प्रहरीको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार ०७:११






