३३ किलो सुन तस्करी प्रकरणः यूएईबाट सुन पठाउने हरिशरण खड्का पक्राउ
२२ माघ, काठमाण्डौँ । साँढे ३३ किलो सुन तस्करी प्रकरणका आरोपित यूएईमा हरिशरण खड्का पक्राउ परेका छन् । लामो समयदेखि यूएईमा बस्दै आएका खड्काले यूएईबाट नेपालका सुन व्यवसायीलाई सुन पठाउँदै आएका खुलेको छ । प्रहरीले उनलाई नेपाल ल्याउन प्रक्रिया सुरु गरिसकेको जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २०७३ पुस २१ गते बरामद गरेको साँढे ३३ किलो सुन प्रकरणमा खड्काको नाम मुछिएको थियो । हाल साँढे ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे) कारागारमा छन् । यसअघि यूएईबाटै पक्राउ गरेर गोरेका भाइ रमेश उप्रेती र बेनु श्रेष्ठलाई नेपाल ल्याइएको थियो ।
प्रहरीले रेडकर्नर नोटिस जारी गरेकामध्ये व्यवसायी मोहनकुमार अग्रवाल, गोविन्दप्रसाद तिवारी, टुकबहादुर मगर, भोजराज भण्डारी, रोहित आचार्य, चेतनाथ भण्डारी, कृष्ण बस्नेत, कृष्ण गोपाल अग्रवाल र मोहमद उस्ताम मियाँ अझै फरार छन् । उनीहरुको खोजी जारी नै रहेको प्रहरीले जनाएको छ ।
घटना छानबिन गर्न सरकारले गृहमन्त्रालयका सहसचिव ईश्वरचन्द्र पौडेलको नेतृत्वमा समिति नै गठन गरेको थियो ।
प्रकाशित मिति : 15:07









