२५ पुष २०८२, शुक्रबार | Sat Jan 10 2026

पञ्चकन्या माविको स्वर्ण जयन्तीको अवसरमा विभिन्न शैक्षिक अक्षय कोष स्थापना

२४ पुस, काठमाडाैँ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ११ मा रहेको पञ्चकन्या माविको स्वर्ण जयन्तीको अवसरमा विभिन्न शैक्षिक अक्षय कोष स्थापना भएको छ । विद्यालयका प्रधानाध्यापक ठाकुरजंग पाण्डेले पूर्व विद्यार्थीहरूको तर्फबाट तीन वटा विभिन्न नामको शैक्षिक अक्षय कोष स्थापना भएको जानकारी दिनुभयो ।

उहाँले कुल ४ लाख २२ हजार २ सय २२ रूपैयाँको कोष स्थापना भएको जानकारी दिनुभयो । उहाँले ऐतिहासिक स्वर्ण जयन्तीको अवसरमा स्थापना भएका विभिन्न कोषहरूले विद्यालयको शैक्षिक उन्नयन र विद्यार्थी प्रोत्साहनका लागि महत्वपूर्ण योगदान गर्ने बताउनुभयो ।

बेलकोटगढी–११ निवासी समाजसेवी श्याम तिमल्सिनाले पिता तिर्थराज तिमल्सिनाको नाममा नगद २ लाख रूपैयाँको शैक्षिक अक्षय कोष स्थापनाको घोषणा गर्नुभएको छ । तिमल्सिना हस्तकलामा स्थापित व्यवसायी हुनुहुन्छ ।

त्यस्तै  आफ्ना स्वर्गीय पिता नीरबहादुर पाण्डे र माता दिपकुमारी पाण्डेको स्मृतिमा विद्यालयका पूर्वविद्यार्थी निरञ्जन पाण्डेले १ लाख ११ हजार १ सय ११ रूपैयाँको “नीर बहादुर–दिपकुमारी पाण्डे स्मृति शैक्षिक अक्षय कोष” स्थापना  गर्नुभएको छ ।

प्रधानाध्यापक पाण्डेका अनुसार आफ्ना स्वर्गीय पिता जनकबहादुर पाण्डे र माता खिल कुमारी पाण्डेको स्मृतिमा विद्यालयका पूर्वविद्यार्थी डा. राजकुमार पाण्डेले १ लाख ११ हजार १ सय ११ रूपैयाँको “जनक बहादुर–खिल कुमारी पाण्डे स्मृति शैक्षिक अक्षय कोष” स्थापना गर्नुभएको छ ।

प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार १२:१९