भेनेजुएलामाथि कूटनीतिक र आर्थिक दबाब कडा बनाउँदै अमेरिका
२१ पुस, वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग सम्बन्धित नीतिगत निर्णयमा सबै विकल्प खुला राख्ने नीति अपनाउने अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बताउनुभएको छ ।
आइतबार सीबीएस टेलिभिजनसँगको अन्तर्वार्तामा रुबियोले राष्ट्रपति ट्रम्प सधैं परिस्थितिअनुसार निर्णय गर्न सकिने लचिलो नीति पक्षधर रहेको उल्लेख गर्दै भेनेजुएलाको अन्तरिम नेतृत्वले आगामी दिनमा लिने कदमहरूलाई अमेरिका ध्यानपूर्वक मूल्याङ्कन गर्ने बताउनुभयो ।
शनिबार भएको अमेरिकी सैन्य कारबाहीपछि ट्रम्पले भेनेजुएलामा राजनीतिक सङ्क्रमण प्रक्रिया अमेरिकी अपेक्षाअनुसार अघि नबढेसम्म अमेरिका स्थिति व्यवस्थापनमा संलग्न रहने धारणा सार्वजनिक गर्नुभएका थिए । उक्त कारबाहीपछि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो हाल न्यूयोर्कमा अमेरिकी हिरासतमा रहेका छन् ।
सङ्क्रमण प्रक्रियाप्रति अमेरिकी दृष्टिकोण
रुबियोका अनुसार भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले लिने निर्णय र देखाउने सहकार्यका आधारमा अमेरिकाको आगामी नीति तय हुनेछ ।
भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति मादुरो अनुपस्थित भएपछि उपराष्ट्रपति रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न निर्देशन दिएको छ ।
“हामीले अब पहिलेभन्दा बढी सहकार्य र जिम्मेवारीको अपेक्षा गरेका छौं,” रुबियोले भन्नुभयो । उहाँले आवश्यक परे कूटनीतिक तथा आर्थिक उपायहरू प्रयोग गरिने सङ्केत पनि दिए, जसमा हाल लागू गरिएको तेलसम्बन्धी प्रतिबन्ध प्रमुख रहेको बताउनुभयो ।
अमेरिकी विदेशमन्त्रीले लागूऔषध तस्करी नियन्त्रण गर्नु र अवैध गिरोह गतिविधि रोक्नु अमेरिका का प्रमुख चासोका विषय भएको स्पष्ट पार्नुभयो । भेनेजुएलामा तत्काल निर्वाचनको सम्भावनाबारे सोधिएको प्रश्नमा रुबियोले लामो समयदेखि विद्यमान राजनीतिक संरचनालाई ध्यानमा राख्दा छिटो निर्वाचन अपेक्षा गर्नु यथार्थपरक नहुने बताउनुभयो । यसैबीच, कार्यवाहक राष्ट्रपति रोड्रिगेजले अमेरिकी कारबाहीप्रति आपत्ति जनाउँदै राष्ट्रपति मादुरो र उनकी पत्नीलाई रिहा गर्न माग गर्नुभएको छ ।
सैन्य उपस्थिति र दबाबका उपाय
रुबियोले हाल भेनेजुएलामा अमेरिकी सेना तैनाथ नभएको स्पष्ट पार्दै भविष्यका विकल्पहरू सार्वजनिक रूपमा अस्वीकार नगरिएको बताउनुभयो । उहाँका अनुसार अमेरिका हाल तेलसम्बन्धी प्रतिबन्ध र कूटनीतिक दबाबमार्फत आफ्नो प्रभाव प्रयोग गरिरहेको छ ।
अमेरिकी कदमप्रति अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको । धेरै देशहरूले एक सार्वभौम राष्ट्रमाथि गरिएको बल प्रयोगप्रति असहमति जनाउँदै शान्तिपूर्ण समाधानको आह्वान गरेका छन् ।
प्रकाशित मिति : २१ पुष २०८२, सोमबार १२:३१








