१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

निजी विद्यालयले शैक्षिक व्यापार बन्द गर्नुपर्छः सञ्चारमन्त्री बाँस्कोटा

१९ माघ, काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निजी विद्यालयले शैक्षिक व्यापार बन्द गर्नुपर्ने बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को १३औँ जिल्ला अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “अङ्गे्रजी भाषा फरर बोल्दैमा गुणस्तरीय शिक्षा दियौँ भनेर गर्व गर्न मिल्दैन, सरल र सर्वसाधारणलाई समेट्ने गरी सेवामूलक ढङ्गले लाग्नुपर्छ, शैक्षिक व्यापार बन्द गर्न जरुरी छ ।”

मन्त्री बाँस्कोटाले नेपालका शैक्षिक संस्थाले अहिलेसम्म पनि युवा वर्गलाई खाडी मुलुक पठाउने शिक्षा दिएको गुनासो गर्दै ज्ञानभूमिको मन्दिरमा निजीकरणका नाममा व्यापार गर्न नमिल्ने बताउनुभयो । “नेपालमा नर्सरीमा भर्ना गर्दा रु पाँच लाखसम्म लिएको उदाहरण पाइयो, यसलाई शैक्षिक व्यापार नभनेर के भन्ने ?” उहाँको प्रश्न थियो । शैक्षिक व्यापार बन्द भयो भने मात्रै निजी क्षेत्रसँग मिलेर मुलुकको अशिक्षा समाप्त पार्न सकिने मन्त्री बाँस्कोटाको भनाइ छ ।

उहाँले भर्ना अभियानका क्रममा तीन लाख बालबालिकालाई विद्यालय पठाउन सफल भएकामा खुशी व्यक्त गर्दै ग्रामीण भेगमा जाने निजी विद्यालयले स्थानीयस्तरमा आर्थिक विश्लेषण गरी अभिभावकको बहन क्षमता हेरेर मात्रै जान आग्रह गर्नुभयो ।

मन्त्री बाँस्कोटाले सरकारले निजी विद्यालयमा ताला नलगाउने बताउनुभयो । “शिक्षा आयोगको प्रतिवेदनका आधारमा सरकारले आजै निजी विद्यालय बन्द गर्न लाग्यो भन्ने भ्रममा नपर्नुहोला”, उहाँले थप्नुभयो, “निजी विद्यालयमा धेरै बेथिति छन् यसलाई सच्याएर अघि बढ्नुपर्छ ।” अभिभावक गरीब छन् भनेर निजी विद्यालयले सित्तैमा पढाउन नसक्ने उहाँको भनाइ थियो ।

मन्त्री बाँस्कोटाले सामुदायिक विद्यालयको गुणस्तर बढाउन योजनाबद्ध ढङ्गले लागेको बताउँदै भन्नुभयो, “निजी विद्यालयबाट बोर्ड फष्ट भएका विद्यार्थी आइएससीमा फेल पनि भएका छन्, त्यसैले घोकन्ते हैन, व्यावहारिक शिक्षा आजको आवश्यकता हो ।”

मन्त्री बाँस्कोटाले आजै पनौती नगरपालिकास्थित निर्माणाधीन क्षेत्रीय रङ्गशालामा आयोजना गरिएको पनौती कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै धेरै विषयमा विभाजन भएपनि खेलले सबै नेपालीलाई एकै स्थानमा जोडेको बताउनुभयो । उहाँले भन्नुभयो, “खेलले फाटेको मन जोड्छ, राष्ट्रिय पहिचान बनाउन ठूलो भूमिका खेल्छ ।”

कार्यक्रममा सङ्घीय सांसद गङ्गाबहादुर दोङ, प्रदेश सांसद चन्द्र लामा र पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले फुटबल प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : February 2, 2019 at 3:41 pm