रुसको मुद्रास्फीति वर्षको अन्त्यसम्म ६ प्रतिशतमा झर्ने
१७ मंसिर, मास्को । रुसको मुद्रास्फीति दर यस वर्षको अन्त्यसम्म करिब ६ प्रतिशतमा झर्ने अपेक्षा गरिएको छ । उक्त दर सरकार र केन्द्रीय बैङ्कले गरेको पूर्वानुमानभन्दा कम रहेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार बताउनुभएको छ ।
मार्चमा १० प्रतिशतभन्दा माथि पुगेको मुद्रास्फीति अहिले वर्षेनी आधारमा ७ प्रतिशतभन्दा तल झरेको छ र वर्षको अन्त्यसम्म करिब ६ प्रतिशत पुग्ने अनुमान छ । राष्ट्रपतिले भन्नुभयो, “आर्थिक वृद्धिको गति केही सुस्त हुँदै गएको छ । रुसको कुल घरेलु उत्पादन यस वर्षको पहिलो नौ महिनामा १ प्रतिशतले बढेको छ ।”
पूरा वर्षको आर्थिक वृद्धिको अनुमान ०.५ प्रतिशतदेखि १ प्रतिशतको बीचमा रहेको छ, जुन सरकारको अपेक्षासँग मेल खान्छ । पुटिनका अनुसार, सरकारले र केन्द्रीय बैङ्कले कडाइ गरिएका नीतिहरू लागू गर्दै अर्थतन्त्रलाई सहज रूपमा सञ्चालन गर्न प्रयासरत रहेका छन् ।“सेप्टेम्बर महिनामा रुसको बेरोजगारी दर २.२ प्रतिशत रहेको छ, जुन ऐतिहासिक रूपमा सबैभन्दा कम दर हो,”उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति : December 3, 2025 at 12:26 pm









