१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

४ मंसिर, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंहसहित छ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ ।

सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका तत्कालीन इञ्जिनियर सुनेशकुमार चौरसिया, सव–इञ्जिनियर नरेश रावत तथा प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडी विरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

हिमाली गाउँपालिका–६ मा प्रसूति केन्द्र निर्माणका लागि स्वास्थ्य कार्यालय बाजुराले उपभोक्ता समितिलाई रु २६ लाख १५ हजार २०६ को लागतमा जिम्मेवारी दिएको थियो । तर निर्माण लागत अनुमान र मापदण्ड विपरीत गरी प्रयोगमा ल्याउन नसकिने अवस्थामा भवन बनाइएको र फर्जी बिल तथा प्रतिवेदनका आधारमा भुक्तानी लिइएको आयोगको अनुसन्धानबाट खुलेको हो ।

निर्मित संरचना हाल प्रयोगविहीन भई भग्नावशेषमा परिणत भएको र यसबाट सार्वजनिक सम्पत्तिको हिनामिना, हानी नोक्सानी तथा दुरुपयोग भएको आयोगले आयोगले जनाएको छ ।

आयोगले प्रतिवादीहरूमाथि जनही रु १५ लाख आठ हजार ५५७ बिगो कायम गरेको छ ।

प्रकाशित मिति : November 20, 2025 at 5:55 pm