नेपाल ट्रस्टकको जग्गा लिज प्रकरणमा पूर्व सचिव अर्जुन कार्की पक्राउ
३० कात्तिक, काठमाडाैँ । पूर्व सचिव अर्जुनकुमार कार्की पक्राउ परेका छन । दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा यति होल्डिङ्सअन्तर्गतको थामसेर्कु ट्रेकिङ प्रालिलाई ३० वर्षका लागि लिजमा दिँदा अनियमितता गरेको आरोपमाकार्की पक्राउ परेका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले आइतबार कार्कीलाई पक्राउ गरेको हो । यसअघि लिज सम्झौतामा हस्ताक्षर गर्ने ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ परिसकेका छन् । सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले कार्कीलाई ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको जानकारी दिनुभएको छ ।
यस्तो छ ब्यूरोको विज्ञप्ति
ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा पक्राउ
उपर्युक्त सम्बन्धमा नेपाल ट्रष्टको नाममा दर्ता कायम रहेको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं.१ दरवारमार्ग स्थित रहेको जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रा.लि.को बीचमा लिजमा दिने / लिने करार संझौता हुँदा सूचनामा उल्लेख भएको कित्ता नं.४६०६ को जग्गा भन्दा बढी अर्को कि.नं.४६०५ समेत थप गरी लिजमा दिने / लिने सम्बन्धमा वदनियत पूर्वक नेपाल ट्रष्टको नाममा रहेको जग्गा BOT Model को निमित्त निर्माण अवधि ३ वर्ष समेत ३० वर्षको लागि लिजमा दिने/ लिने संझौता गरी नेपाल ट्रष्टको कार्यालयलाई दिर्घकालिन हानी नोक्सानी हुने गरी मिति २०७४/०२/१४ गते करार संझौता गरी लिजमा लिने लाभ ग्राहीले सहयोग गर्ने अधिकारी सम्बद्द रहेको विभिन्न ओहदा र पदमा रहेका व्यक्तिहरुले गैर कानूनी तवरले लाभ लिई ठगी,आपराधिक विश्वासघात गरेको,उल्लेखित कार्यबाट नेपाल ट्रष्ट मार्फत नेपाल राष्ट्रलाई नै ठूलो हानी नोक्सानी पुर्याई विभिन्न पद तथा ओहदामा रहेका व्यक्ति, सरकारी कर्मचारी तथा अन्य व्यक्ति, सहयोगी तथा मतियार समेतले लाभ लिएको भन्ने ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा उक्त करार संझौता गर्ने कार्यमा संलग्न रहेका तत्कालिन सह सचिव लेख बहादुर कार्कीलाई मिति २०८२/०७/२१ गते पक्राउ गरी अनुसन्धान हुँदै जाँदा गणेश बहादुर कार्कीको नाति, लिला बहादुर कार्कीको छोरा, जिल्ला दोलखा, जिरी नगरपालिका वडा नं. ६ बस्ने तत्कालिन नेपाल ट्रष्टको कार्यालयमा सचिव पदमा रहेका (हाल सेवा निवृत्त) अर्जुन कुमार कार्कीको समेत संलग्नता रहेको खुल्न आएकोले सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई निज अर्जुन कुमार कार्कीलाई आज मिति २०८२/०७/३० गते पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको ।
शिव कुमार श्रेष्ठ
(प्रहरी वरिष्ठ उपरीक्षक)
प्रवक्ता
सम्पर्क नं.९८५१२९१३११
प्रकाशित मिति : ३० कार्तिक २०८२, आईतवार २०:४७












