ढुक्क हुनुस्, वृद्ध भत्ता ५ हजार पुग्छः मन्त्री विष्ट
१७ माघ, बेसीशहर । बेसीशहरमा आयोजित दोस्रो तामाङ महोत्सवको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने, पाँच वर्षभित्र पाँच हजार पुग्ने बताएका छन् । मन्त्री विष्टले चुनावी प्रतिवद्धता सरकार गठन हुने वित्तिकै पुरा नहुने स्पष्ट पार्दै पाँच वर्षे योजना लिएर आफुहरु चुनावका बेला जनतामाझ गएको बताए ।

उनले अाफुले गरेका प्रतिवद्धता सबै पुरा हुने समेत स्पष्ट गरेका छन् । आगामी वर्ष सामाजिक सुरक्षा भत्तामा वृद्धि गरिने बताएका छन् ।विपक्षी दल नेपाली काँग्रेसप्रति लक्षित गर्दै मन्त्री विष्टले आफुलाई लोकतान्त्रिक पार्टी ठान्नेहरुले विधि र प्रक्रियालाई आत्मसाथ गर्न जरुरी रहेको स्पष्ट पारेका छन् ।
सामाजिक न्यायसहितको समृद्धि प्राप्त गर्न सरकार नयाँ ढंगले अगाडि बढिरहेको बताउँदै मन्त्री विष्टले गरिब जनताको जीवनलाई एकै रातमा रुपान्तरण गर्न असम्भव रहेको बताएका छन् । सरकारले जनताको जीवनलाई समृद्ध पार्नेगरि नीति, कानुन र संरचना निर्माण गरिरहेको बताए । सडक, विद्युत, आर्थिक गतिविधि, सामाजिक सुरक्षा अभियान, देशभित्रै रोजगारी दिनेगरि विभिन्न सन्दर्भमा सरकारले काम गरिरहेको उनले बताए ।
प्रकाशित मिति : 11:54









