घुस खाएर भिएलएनका राम श्रेष्ठलाई छाड्ने ललितपुरका न्यायाधीश विश्वमंगल आत्रेय निलम्बित
१७ माघ, काठमाडाैँ । न्याय परिषद्ले घुस खाएर भिएलएनका राम श्रेष्ठलाई छाड्ने ललितपुरका न्यायाधीश विश्वमंगल आत्रेयलाई निलम्बित गर्ने निर्णय गरेको छ । मंगलबारकाे बैठकले ललितपुरका आत्रेय र तनँहुका जिल्ला न्यायाधीश ओमकार उपाध्यायलाई निलम्बन सिफारिस गरेकाे हो । दुबै न्यायाधीशलाइ निलम्बन गरी थप अनुसन्धान अघि बढाउने निर्णय परिषद्ले गरेकाे हाे।
प्रधानन्यायाधीश अध्यक्ष रहने परिषद्काे अाजको बैठकले यस विषयमा थप निर्णय गर्नेछ। परिषद्ले आत्रेयलाई भिएलएनका संचालक रामप्रसाद श्रेष्ठलाई सफाइ दिँदा आर्थिक चलखेल भएकाे आराेपमा अनुसन्धान गरिरहेकाे छ। भिएलएनबिरूद् मलेसिया जाने कामदारसँग अवैध असुली गरेकाे आराेपमा श्रम तथा राेजगार र सामाजिक सुरक्षा मन्त्रालयले अनुसन्धान गरेकाे थियाे।
न्यायाधीश आत्रेयकाे अनुसन्धान सर्वाेच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईलाई दिएकाे छ। परिषद्ले भट्टराईको संयोजकत्वमा तीन सदस्यिय समिति समेत मंगलबार गठन गरेकाे छ। समितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीशहरु प्रकाश ढुंगाना र सचिवालयमा रहेका टेकप्रसाद ढुंगाना सदस्य रहेका छन ।

भिसा प्रोसेसिङ र स्वास्थ्य परीक्षणका नाममा मलेसिया जाने नेपाली कामदारलाई ठगी गर्दै आएका श्रेष्ठलाई सफाइ दिएकोलगायत आत्रेयका फैसलामा गम्भीर प्रश्न उठाउँदै उजुरी परेकाले परिषद्ले सचिवालयमा तानेर अनुसन्धान थालेकाे थियाे। आत्रेय माघ ३ मा सचिवालय तानिएका थिए। ओमकारकाे भने शैक्षिक प्रमाणपत्रमा कैफियत भेटिएपछि कारबाही अघि बढाइएको हो ।
प्रकाशित मिति : January 31, 2019 at 11:21 am









