२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

अमेरिकाद्वारा ‘साउथ स्पियर’ सैन्य कारबाहीको घोषणा

२८ कात्तिक, वासिङ्टन । ल्याटिन अमेरिकी जल क्षेत्रमा अमेरिकी नौसेना तैनाथीले भूमि आक्रमण र क्षेत्रीय द्वन्द्व चर्किन सक्ने चासो बढिरहेका बेला अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले बिहीबार ‘नार्को–आतङ्ककारीहरूलाई हटाउने’ भन्दै नयाँ सैन्य कारबाहीको घोषणा गर्नुभएको छ ।

हेग्सेथले सामाजिक सञ्जाल एक्समा ‘आज म अपरेसन साउथ स्पियरको घोषणा गर्दैछु’ भन्दै लेख्नुभएको थियो । उहाँले यो कारबाहीले ‘हाम्रो मातृभूमिको सुरक्षा सुनिश्चित गर्ने, गोलार्धबाट नार्को–आतङ्ककारीहरूलाई हटाउने र लागुऔषधजन्य अपराधबाट अमेरिकी जनतालाई बचाउने’ दाबी गर्नुभएको छ । तर सो पोस्टमा अपरेसनका वास्तविक कार्यविधि, उद्देश्य वा यसले चलिरहेको सैन्य कारबाहीभन्दा कसरी अलग प्रभाव पार्नेछ भन्ने विस्तृत विवरण भने दिएको छैन ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन हाल क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी नौसेना तथा वायु सेना परिचालन गर्दै लागुऔषध विरोधी अभियान चलाइरहेको छ । अमेरिकी तथ्याङ्कअनुसार सेप्टेम्बरको सुरूदेखि अमेरिकी सेनाले उक्त क्षेत्रमा अन्तर्राष्ट्रिय जलमार्गमा करिब २० वटा जहाजलाई निशाना बनाएको र कम्तीमा ७६ जनाको मृत्यु भएको छ ।

साउथ स्पियर अपरेसनको स्वरूपबारे थप स्पष्टीकरण माग्दा पेन्टागनका प्रवक्ताले हेग्सेथको एक्स पोस्टमै सोधपुछ गर्न सुझाव दिएका छन् ।यसैबीच सिबिएस न्युजले उद्धृत गरेका स्रोतहरूका अनुसार वरिष्ठ अमेरिकी सैन्य अधिकारीहरूले राष्ट्रपति ट्रम्पलाई भेनेजुएलामा सम्भावित अपरेसनका अद्यावधिक विकल्पहरू पेश गरेको उल्लेख गरिएको छ । विकल्पहरूमा भूमिगत आक्रमणसमेत समावेश छ ।

भेनेजुएलाले आफ्नो तटीय क्षेत्रमा बढिरहेको अमेरिकी नौसेना गतिविधिको सामना गर्न राष्ट्रव्यापी सैन्य तैनाथी घोषणा गरेको छ । हालै उक्त क्षेत्रमा अमेरिकी विमानवाहक स्ट्राइक समूह पुगेको छ । साथै पोर्टो रिकोमा तैनाथ एफ–३५ स्टील्थ लडाकू विमान र क्यारिबियनमा कार्यरत छवटा अमेरिकी नौसेना जहाजहरूले क्याराकासले ‘शासन परिवर्तनका लागि रचेको षड्यन्त्र’ को सङ्केत दिएको आरोप लगाएको छ ।

प्रकाशित मिति : November 14, 2025 at 5:43 pm