२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

नेपाल टेलिभिजनको उच्च प्रविधिमा फड्को, आजबाट चारै च्यानल एचडीमा प्रशारण

१७ माघ, काठमाडौँ । नेपाल टेलिभिजनले आज बिहीबारदेखि हाइ डेफिनेसन (एचड) मा प्रशारण सुरू गरेको छ । टेलिभिजनको नेतृत्व सम्हालेदेखि नै कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले नेपाल टेलिभिजनका चारवटै च्यानललाई एचडीमा प्रशारण गराउन सार्थक तयारी सुरू गरेका थिए । आज त्यो तयारीले पूर्णता पाएको छ ।

नेपाल टेलिभिजनको ३४औँ वार्षिकोत्सवका अवसर पारेर आजदेखि प्रशारण एचडीमा रूपान्तरण गरिएको अध्यक्ष डा महेन्द्र विष्टले दैनिकीलाई जानकारी दिए । नेपालको सबैभन्दा जेठो र अग्रणी टेलिभिजन प्रसारण संस्थाका रुपमा ख्याति कमाएको नेपाल टेलिभिजनलाई नारा अनुसारको रूपान्तरणका लागि ‘विकासका लागि सञ्चार, समृद्धिको आधार’ भन्ने नयाँ नारा तय गरिएको अध्यक्ष विष्टले बताए ।

समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय लक्ष्य भेट्टाउन नेपाल टेलिभिजनले आफ्नो प्रयास गर्ने अध्यक्ष विष्टले बताए । विविधतामा एकताको हाम्रो भावनालाई बलियो तुल्याउन र सभ्य अनि सुसंस्कृत नेपाली समाजको निर्माण गर्नमा टेलिभिजन क्रियाशिल हुने विष्टले बताए ।

अध्यक्ष विष्टले टेलिभिजन प्रसारण जगत्मा अत्याधुनिक प्रविधिलाई आत्मसात् गर्दै नेपाल टेलिभिजनले नयाँ उचाइ हासिल गरेको बताए ।देशको सांस्कृतिक, भौगोलिक र भाषिक विविधतालाई झल्काउँदै राष्ट्रिय एकतालाई मजबुत बनाउने अझै भूमिका खेल्ने विष्टले बताए । दर्शकहरूले भोलिदेखि नेपाल टेलिभिजन, एनटिभी न्युज, एनटिभी प्लस र एनटिभी कोहलपुर गरी चारै च्यानल एचडीमा हेर्न पाउनेछन ।

प्रकाशित मिति : 08:48