एनएमबि बैंकको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?
२१ कात्तिक, काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले ९१ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.०४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २४.४९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १४.३७ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २३.४७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४.३१ प्रतिशत घटेको छ। साे अवधिसम्ममा बैंककाे वितरणयाेग्य मुनाफा १ अर्ब ९४ कराेड रूपैयाँ रहेकाे छ।
१८ अर्ब ३६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब २६ करोड रुपैयाँ सञ्चित छ। बैंकले असोज मसान्तसम्ममा २ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ९५ पैसा, प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ६४ पैसा र मूल्य आम्दानी अनुपात ११.७८ गुणा रहेको छ।
प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार ११:१३












