पोखरा सहकारीको झन्डै ८९ करोड हिनामिना, अध्यक्षसहित ७ जना पक्राउ
१९ कात्तिक, काठमाडौं । पोखरा बचत तथा ऋण सहकारी संस्थाको ठुलो रकम हिनामिना भएको छ । सहकारीको रकम हिनामिना आरोपमा कास्की प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सहकारीका अध्यक्ष सुरेन्द्र गोदार, सचिव दिल बहादुर केसी, कोषाध्यक्ष हिरामणि दाहाल, व्यवस्थापक भीष्मप्रसाद गुरुङलाई पक्राउ गरेको छ । यस्तै, सदस्य दोर्जे तामाङ, सुपरभाइज मार्केट प्रमुख, बेदीप्रसाद सुवेदी पनि प्रहरीले पक्राउ गरेको छ ।
सहकारी रजिष्टारको कार्यालयले मंगलबार उक्त सहकारीमा सर्वसाधारणले बचत राखेको ८८ करोड ७० लाख ९८ हजार ९६२ रुपैयाँ हिनामिना गरेको वित्तीय विश्लेषण प्रतिवेदनसहित कारबाहीका लागि पेस गरेको थियो। सोही प्रतिवेदनका आधारमा उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएकाे छ । पक्राउ परेकाहरूलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरेर अनुसन्धान थालिएको छ ।
प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार १३:३७












