सशस्त्र प्रहरी बल जनताको नजरमा भरोसालाग्दो सुरक्षा संगठनः गृहमन्त्री थापा
१५ माघ, काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी बल जनताको नजरमा भरोसालाग्दो सुरक्षा सङ्गठनका रुपमा स्थापित भएको बताउँदै सशस्त्र प्रहरीको काँधमा चलायनमान सुरक्षा निकायका रुपमा अहम् भूमिका बहन गर्नुपर्ने जिम्मेवारी रहेको बताएका छन ।
मंगलबार सशस्त्र प्रहरी बलको १८ अाैँ स्थापना दिवसलाइ सम्बोधन गर्दै गृहमन्त्री थापाले सबै सुरक्षा निकायसँग समन्वय गरेर काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिँदै सङ्गठनको जनशक्ति विस्तार गर्दै लगिने र सीमा अपराध नियन्त्रणका लागि स्तरवृद्धि गरी ‘बोर्डर आउटपोष्ट’लाई बढाउँदै लैजाने सरकारी योजना रहेको जानकारी दिए ।

अस्थायी गुल्मलाई स्थायी गर्ने र बाहिनीलाई प्रभावकारी बनाउन मन्त्रालयले योजना अघि बढाएको छ भन्दै उनले अबको सुरक्षा प्रविधिउन्मुख हुने भएकाले समयानुकूल प्रविधि अवलम्बन गरेर सेवा विशिष्टीकरणका लागि सातै प्रदेशमा थप शिक्षालय स्थापना गरिने आश्वासन दिए।
विपद् व्यवस्थापन तालीम केन्द्रले दक्ष जनशक्ति उत्पादन र खोज उद्धारमा उल्लेखनीय कार्य गरेको छ, उच्च पहाडी र हिमालमा हुने विपद् उद्धारमा उच्च शिखर खोज तथा उद्धार शिक्षालय स्थापना गर्नेतर्फ आवश्यक तयारी भइरहेको छ भन्दै गृहमन्त्री थापाले यसका लागि मन्त्रालयमा योजना पेश गर्नसमेत प्रहरी बललाई निर्देशन दिए ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रधानमन्त्री र गृहमन्त्रीका सुझाव र निर्देशनलाई अक्षरशः पालन गर्दै देशको शान्ति र सुरक्षाका लागि सशस्त्र प्रहरी कटिबद्ध रहेको बताउनुभयो ।
प्रकाशित मिति : 19:02









