२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

बाबुल गिरीको स्टुडियोबाट जलेको अवस्थामा उद्धार गरिएको गायिका नितु पौडेलको निधन

७ कात्तिक, काठमाडौँ । गायक बाबुल गिरीको स्टुडियोमा जलेको अवस्थामा उद्धार गरिएको गायिका नितु पौडेलको निधन भएको छ । पौडेलको उपचारको क्रममा शुक्रबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंको एसपी पवन भट्टराईले दैनिकीसँग कुरा गर्दै नितुको निधन पुष्टि गर्नुभयो ।

काठमाडौँ महानगरपालिका वडा नम्बर २९ अनामनगरको नागार्जुन गल्लीमा रहेको गिरीको स्टुडियोमा नितु कात्तिक १ गते शनिबार जलेर गम्भीर घाइते भएको अवस्थामा भेटिएकी थिइन । नजिकका मानिसहरूले झ्यालबाट आगोमा जलिरहेको मान्छे कोठामा यताउती दगुरीरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि लगत्तै प्रहरी पुगेर नितुको उद्धार गरेर प्रहरीले झ्यालको पर्दामा बेरेर नितुलाई अस्पताल पुर्याएको थियो ।

नितुसँगै गिरीलाई पनि एम्बुलेन्समै राखेर अस्पताल लगिएको थियो । नितुको शरिर जलेको थियो भने गिरीको शरिर भिजेको अवस्थामा भेटिएको थियो । एम्बुलेन्समा राख्दासम्म नितुले आँखा खोलेर उद्धारकार्य हेरिरहेकी थिइन ।

dainiki.com

नितु र बाबुलको बीचमा प्रेम सम्बन्ध रहेको बुझिएको छ । नितुले शरिरमा आगो लगाउनुको कारण पनि सम्बन्धको खटपटकै रहेको उनको आफन्तले दाबी गरेका छन । नितुको परिवारले उनको निधन भएसँगै बाबुलको विरूद्धमा किटानी जाहेरी दर्ता गरेका छन । उनीहरूले प्रहरी प्रभाग सिंहदरबारमा गिरीको विरूद्धमा किटानी जाहेरी दर्ता गरेका छन । प्रहरीमा जाहेरी दर्ता भएसँगै गिरी प्रहरी प्रभाव सिंहदरबारमै पुगेका छन ।

यसअघि परिवारको तर्फबाट भएको सामान्य ठाडो उजुरीको आधारमा प्रहरीले गिरीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । अब प्रहरीले किटानी जाहेरी बुझेपछि प्रहरीले थप अनुसन्धान गर्नेछ ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार १३:३८