चिनद्धारा कंलकी–कोटेश्वर सडक सरकारलाई हस्तान्तरण
१४ माघ, काठमाडौँ । चीनले आफ्नो अनुदान सहयोगमा निर्माण सम्पन्न चक्रपथको कोटेश्वर–कलंकी सडक खण्ड नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । ५ वर्ष लगाएर निर्माण एवं बिस्तार गरिएको सो सडक खण्डको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले चीन सरकारप्रति आभार व्यक्त गर्दै दुवै छिमेकी देशलाई विश्वासमा लिएर सुखी नेपाली, समृद्ध नेपालको नारालाई सार्थकता दिइने प्रतिबद्धता जनाउनुभयो । ‘कोटेश्वर–कलंकी खण्ड एउटा पाटो हो। यस्तो सहयोग चीनबाट लामो समयदेखि हुँदै आएको छ। नेपाल आर्थिक रुपमा अहिले पछि परेको छ। अहिले नेपाललाई चीनको सहयोग र समर्थन चाहिएको छ।’ प्रधानमन्त्री ओलीको भनाई छ । चीनसँग नेपालको हिमाल र नदीको सम्बन्ध छ। यो सम्बन्धलाई विकास निर्माणको कार्यमा हुने सहयोगले अझै प्रागड बनाएको प्रधानमन्त्रीले बताउनु भयो ।

बिजुलीको पोल र रुख समयमै नहटाउँदा चक्रपथ विस्तारमा केही असहज भएको थियो। अब चक्रपथको कलंकी–महाराजगन्ज खण्ड विस्तार गर्दा त्यस्तो समस्या आउन नदिने ओलीले प्रतिवद्धता गर्नुभयो । कार्यक्रममा नेपालका लागि चिनिया राजदुत यान्छीले नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न चीन सरकार प्रतिबद्ध रहेको बताउनु भएको थियो ।
सडकको २७ किलोमिटर लम्वाईमध्ये पहिलो चरणमा १० दशमलव ३९ किलोमिटरको कोटेश्वर–कलंकी खण्ड विस्तारको काम सकिएको सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाले जनाएको छ । आयोजनाले कोटेश्वर, बागडोल र ग्वार्कोमा आकाशे पुल निर्माण गरेको छ ।

यस बाहेक सडक विस्तारका क्रममा खसीबजार, मनोहरा र बल्खुका दुई स्थानमा गरी आठ वटा पुल निर्माण भएको छ । चक्रपथमा हुने जामलाई कम गर्नका लागि कलंकीमा अण्डर पास पनि बनाइएको छ । सडकमा आधुनिक स्वरुप देखिएपनि बैज्ञानिक तवरले डिजाइन र निर्माण नभएको गुनासो सरोकारवालाको छ । सरकारले सर्भिस लेन निर्माणको काम पनि सकाएको छैन ।
प्रकाशित मिति : 14:02







