२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

नेकपा नेतृत्वको डोटीको पूर्वीचौकी गाउँपालिकाद्धारा बस सेवा सुरू, भाडा ३० प्रतिशत सस्तो

१३ माघ, डोटी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेतृत्व गरेको डोटीको पूर्वीचौकी गाउँपालिकाले चौखुट्टे – सिलगढी बस सेवा सुरु गरेको छ । डोटीको सिलगढीदेखि अछामको सिमाना चौखुट्टेसम्मका लागि दुई वटा बस सञ्चालन सुरू गरिएको हो । बस सेवा सुरु भएपछि पूर्वीचौकीका बासिन्दालाई राहत पुग्ने नेकपाका नेता एवं गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताएका छन ।

उनले बस अछामको सिमाना चौखुट्टेदेखि सिलगढीसम्म बिहान, दिउँसाे र बेलुका बस छुट्ने जानकारी दिए । गाउँपालिकाले एक्जाभेटर सेवा पनि सुरु गरेको छ । गाउँपालिकाभित्र सडक विस्तार, मर्मत तथा सुधार गर्नका लागि आफ्नै जोडर पनि ल्याइएको अध्यक्ष बोगटीले बताए । सुदूरपश्चिम प्रदेशमा आफ्नै यातायात सञ्चालन गर्ने यो पहिलो गाउँपालिका हो ।

अध्यक्ष बोगटीले अरु गाडीमा भन्दा ३० प्रतिशत कम भाडादर निर्धारण गरेको जानकारी दिए । मुनाफाभन्दा पनि सेवाको हिसाबले सञ्चालन गरेका कारण सस्तो भाडादर कायम गरिएको बोगटीले बताए । चौखुट्टेदेखि सिलगढीसम्मको सार्वजनिक यातायातमा १ सय ५० रुपैँया भाडा दिने गरेको भए पनि गाउँपालिकाले १ सय १० रुपैँया मात्र कायम गरेको छ ।

प्रकाशित मिति : 10:50