२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

सरकारले ओमानसँग पनि श्रम सम्झौता गर्ने

११ माघ, काठमाण्डौ  ।  सरकारले ओमानसँग पनि छिटै श्रम सम्झौता गर्ने भएकोले श्रम सम्झौताको तयारीका लागि नेपाली टोली शनिबार ओमान जाँदैछ ।श्रम सम्झौताका लागि ओमानले दुई महिनाअघि खाका पठाएको थियो ।

नेपालले ओमानसँग श्रमिकमाथि व्ययभार तथा ठगीमा नपर्ने गरी श्रम सम्झौता गर्ने तयारी गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । एमओयूमा कामदारको हित, व्यवसायजन्य सुरक्षा, बीमा, महिना पूरा भएको निश्चित समयमा तलब बैंक खातामै दिनुपर्ने व्यवस्था र राहदानी कामदारले राख्न पाउने गरी प्रस्ताव गरिने मन्त्रालयले जनाएको छ ।

शनिबार ओमान जाने नेपाली टोलीले आइतबार र सोमबार वार्ता गरेपछि यूएईसँग यसअघि भएको श्रम समझदारी नवीकरणका लागि छलफल हुने मन्त्रालयले जनाएको छ ।  श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाली श्रमिक जाने देशहरुसँग श्रम सम्झौता गर्ने र भएका समझदारीहरुको पनि नवीकरण गर्ने निर्णय गरेपछि यूएईले डेढ महिनाअघि नवीकरणका लागि एमओयूको मस्यौदा पठाएको थियो ।

दुवै देशसँग गरिने सम्झौता र समझदारीमा शून्य लागतलाई जोड दिने सरकारले जनाएको छ । टोलीले वार्ता गरेर नेपालको प्रस्तावमा छलफल गरेपछि सहमति गर्न सकेमा दुवै सरकारको मन्त्रीस्तरमा हस्ताक्षर हुनेभएकाे छ ।

प्रकाशित मिति : 12:37