२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

सुदूरपश्चिम प्रदेशमा आजदेखि श्रम स्वीकृति सेवा, काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य

११ माघ, धनगढी । वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले आज शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशको धनगढीबाट पनि श्रम स्वीकृति प्रदान गर्न लागिएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल र सहजरूपमा उपलब्ध गराउने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको निर्णय अनुसार आदेखि धनगढीबाट पुनः श्रम स्वीकृति जारी गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

सरकारले पहिलो चरणमा यही पुस १५ गतेदेखि प्रदेश नं २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नं ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रदान गर्न शुरु गरिसकेको छ । त्यस्तै दोस्रो चरणमा गण्डकी प्रदेशको पोखराबाट पुस २५ गते श्रम स्वीकृति सेवा सुरू गरिसेको छ । तेस्रो चरणमा माघ ६ गतेबाट कर्णाली प्रदेशमा श्रम स्वीकृति प्रदान सुरू भैसकेको छ भने चाैँथाे चरणमा सुदूरपश्चिम प्रदेशबाट अाज सेवा सुभारम्भ हुँदैछ ।

प्रदेश कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमनको कार्य गरिनेछ । सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत कार्य ती कार्यालयबाटै सम्पादन हुने श्रम मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले बताएका छन ।

प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । अब सेवाग्राहीले श्रम स्वीकृतिका लागि काठमाडौँको ताहाचालस्थित श्रम कार्यालयमा लाइन लाग्नुपर्ने छैन ।

प्रकाशित मिति : 08:35