चिसोले कठ्यांग्रिएर जुम्लामा बाटो हिँड्दै गरेका भाइको मृत्यु, दाजुकाे अचेत अवस्थामा उद्धार
१० माघ, जुम्ला । सिँजा गाउँपालिका–६ जोडुका २७ वर्षीय शिवचन्द्र बुढाको हिउँमा कठ्यांग्रिएर मुत्यु भएको छ भने उनका दाजु बाँचे बुढाको अचेत अवस्थामा उद्धार गरिएको छ । डाँफे लेकको बाटो हिँड्दै गरेका दाजुभाइ हिमपातका कारण चिसोले कठ्यांग्रिएर अचेत अवस्थामा पुगेपछि भाइ शिवचन्द्रको बाटोमै मृत्यु भएको थियो ।
मंगलवार साँझ बेपत्ता दाजुको उद्दार गरिएपनि भाइको लास बुधबार मध्याह्न १२ बजे मात्रै भेटिएको थियो । स्थानीय नरबहादुर बुढाका अनुसार दुवै दाजुभाइ जुम्लाको पातारासी गाउँपालिकाको पट्माराबाट राडिपाखी खरीद गरेर डाँफे लेक हुँदै सिञ्जाको जोडु गाउँतर्फ जाँदै थिए । घर जान बाटो लागेका उनीहरु नाकुल्ली भन्ने स्थानमा चलेको तीव्र हुरीबतास र हिमपातका कारण चिसोले कठ्यांग्रिएर अचेत अवस्थामा पुगेका हुन् ।
शव भेटिएको स्थानमा करीब २ फिट बढी हिउँ परेकाले शव घर लैजान अप्ठ्यारो भएको भन्दै घटनास्थलमा नै मृतकको दाहसंस्कार गरिएको आफन्तले बताएका छन् । प्रहरी निरीक्षक प्रकाश केसीले घटना वास्तविक भए पनि प्रहरीलाई समयमै जानकारी नहुनु र घटनास्थलमा नै मृतकको दाहसंस्कार गरिनाका कारणबारे अनुसन्धान भइरहेको बताए ।
भारी हिमपातसँगै चिसोले जुम्लाको जनजीवन कष्टकर बनेको छ । हिँउले स्थानीयवासीलाई ठूलो कामका लागि गाउँबाहिर जान मुस्किल परेको छ ।चिसोले बालबालिका, वृद्धवृद्धा तथा गर्भवती बढी प्रभावित भएका छन् भने बिरामीको संख्या पनि बढ्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
प्रकाशित मिति : 14:24







