२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

पुन:र्स्थापना केन्द्रमा शारीरिक यातना दिएर सीताराम घिमिरेकाे हत्या, दुइजना पक्राउ

१० माघ, ललितपुर । ललितपुरकाे महालक्ष्मी–४ स्थित एक पुनर्स्थापना केन्द्रमा शारीरिक यातनाका कारण सेवाग्राहीको मृत्यु भएको पाइएपछि प्रहरीले सञ्चालकसहित दुईजनालाई पक्राउ गरेको छ । सोलुका २८ वर्षीय छिरिङ ग्याल्जेन शेर्पा र झापा विर्तामोड–४ का ४८ वर्षीय सुनील खड्का क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

शेर्पा पुनर्स्थापना केन्द्रका अध्यक्ष र खड्का म्यानेजर हुन् । उनीहरूले केही वर्षदेखि ललितपुर महालक्ष्मीस्थान–४ स्थित सेतीपाखामा वी केयर लागुऔषध पुनर्स्थापना तथा सुधार केन्द्र सञ्चालन गर्दै आएका थिए । प्रहरीका अनुसार सुधार केन्द्रमा दोलखा वैतेश्वर–६ नाम्दुका ४३ वर्षीय सीताराम घिमिरेको मृत्यु भएको हो । लागुऔषध सेवनबाट छुटाउन उनलाई परिवारका सदस्यले ३ माघमा पुनस्र्थापना केन्द्रमा भर्ना गरेका थिए । उनको ६ माघमा मृत्यु भएको हो ।

घटनाको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डिएसपी गौतम मिश्रले घिमिरेको मृत्यु शंकास्पद देखिएको बताए । उनले भने, ‘घिमिरेको मृत्यु शंकास्पद देखिन्छ । शरीरमा नीलडाम पनि रहेको पाइयो । पोस्टमार्टम रिपोर्ट भने आइसकेको छैन । अनुसन्धानका लागि दुईजना पक्राउ गरेको छौँ । केही दिनमै तथ्यबाहिर आउला ।’परिवारका सदस्यले भने घिमिरेको मृत्यु नभई हत्या भएको दाबी गरेका छन् । घटना हेर्दा करेन्टको झड्कापछि उनको मृत्यु भएको हुन सक्ने मृतकका भतिज गान्धीवकुमार घिमिरेले बताए ।

उनले भने, ‘हामीले मृतकको शरीर हे-यौँ । हातखुट्टा जताततै नीलडाम देखिन्छ । करङ पनि भाँचिएको रहेछ । करेन्ट लगाएर उनको हत्या गरिएको हुन सक्ने हाम्रो अनुमान छ । पोस्टमार्टम रिपोर्ट अझै प्राप्त भएको छैन । हत्या नै भएको किटानीका साथ हामीले जाहेरी प्रहरी कार्यालयमा दर्ता गराएका छौँ । दुईजना समातिएका छन् । तर, घटना के हो अझै प्रहरीले खुलाउन सकेको छैन ।’

गान्धिवकुमारका अनुसार प्रतिमहिना १५ हजार बुझाउने गरी मृतक घिमिरेलाई केन्द्रमा भर्ना गरिएको थियो । सुरुमा केन्द्रले ४५ हजार रुपैयाँ डिपोजिट मागे पनि पछि महिनाको अग्रिम रकम भन्दै १५ हजार रुपैयाँ लिएको थियो ।

पुन:र्स्थापना केन्द्रनै मापदण्ड विपरीत

ललितपुर महालक्ष्मीस्थान–४ स्थित सेतीपाखामा वी केयर लागुऔषध पुनर्स्थापना तथा सुधार केन्द्र न्युनतम मापदण्ड विनानै संचालन गरेकाे पाईएकाे छ। पुन:र्स्थापना केन्द्रमा यातायातका साधन, पर्याप्त कर्मचारी र स्वास्थ्यकर्मी समेत छैनन् ।

पुन:र्स्थापना केन्द्ररकाे नियमन गर्ने निकायले अनुगमन नगरेकाेले समस्या भएकाे प्रहरीकाे भनाइ छ । पुन:र्स्थापना केन्द्र पटक पटक विवादमा अाउने गरेकाेमात्रै हाेईन यातना केन्द्रकाे रुपमा विकाश भईरहेकाे छ ।

प्रकाशित मिति : 13:49