हाम्रो पुस्तकालय हाम्रो भविष्य नारासहित अठारौँ पुस्तकालय दिवस भव्य रूपमा सम्पन्न
१५ भदौ, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा सञ्चार तथा सूचना प्रविधि मन्त्री माननिय पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यमा रसियन हाउस, कमलपोखरीमा १८औँ पुस्तकालय दिवस २०८२ विविध कार्यक्रमको आयोजना गरी भव्य रूपमा सम्पन्न भएको प्रचार प्रसार उपसमितिका संयोजक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै मन्त्री गुरुङले पुस्तकालय केवल किताब भण्डारण स्थल मात्र नभई समाजको समग्र विकासको केन्द्र हुनुपर्ने बताउँदै आजको समयमा पुस्तकालयको भूमिका पुनः परिभाषित गर्नुपर्ने आवश्यक रहेको औँल्याउनुभयो। उहाँले प्राचीनकालदेखि नेपालको पुस्तकालय इतिहास स्मरण गर्दै १८६९ सालमा जारी “पुस्तक चिताइ तहबिल” लालमोहरलाई पहिलो कानुनी पुस्तकालयको आधार मानिएको जानकारी दिनुभयो।

मन्त्री गुरुङले जनचेतना, पठन संस्कृति, अनुसन्धान र सामाजिक रूपान्तरणका मेरुदण्ड मानिने पुस्तकालय सम्बन्धी अझै स्पष्ट नीति तथा कानुनको अभाव रहेकोमा ध्यानाकर्षण गराउनुभयो। दीर्घकालीन, प्रणालीगत र बहु आयामिक सुधार अपरिहार्य भएको भन्दै सरकारले एकीकृत पुस्तकालय ऐन निर्माण, बजेट व्यवस्थापन, पूर्वाधार विकास, डिजिटल रूपान्तरण र जनशक्ति विकासमार्फत पुस्तकालयलाई आधुनिक पूर्वाधार र प्रविधिसहित पुनर्निर्माण गर्नुपर्ने आवश्यकता समेत औँल्याउनुभयो। सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै पुस्तकालय क्षेत्र प्रविधिमैत्री बनाउने र सहज इन्टरनेट सेवासहित विद्युतीय पुस्तकालयतर्फ रूपान्तरण गर्ने कार्यमा मन्त्री गुरुङले आफ्नो मन्त्रालयको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
अठारौँ पुस्तकालय दिवसको अवसरमा विद्यालय शिक्षा महाशाखाका प्रमुख सहसचिव रुद्रप्रसाद अधिकारीको संयोजकत्वमा गठन भएको पुरस्कार छनौट समितिबाट सिफारिसका आधारमा नेपालभरका उत्कृष्ट योगदान पुर्याउने पुस्तकालय, पुस्तकालयकर्मी र पुस्तकालय अभियन्तालाई सम्मान गरिएको छ।
यस वर्षको उत्कृष्ट पुस्तकालयको सम्मान कोहलपुर(११, बाँकेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र लाई प्रदान गरिएको छ। उत्कृष्ट पुस्तकालय अभियन्ताको रूपमा काठमाडौँ(१४, कुलेश्वरका गृहमानसिंह श्रेष्ठ र उत्कृष्ट पुस्तकालयकर्मीको रूपमा गोकर्णेश्वर(७, जोरपाटीका जगदीश चन्द्र अर्याल सम्मानित भएका छन्।
रत्न पुस्तकालय, बानेश्वर, काठमाडौँले पुस्तकालय र सूचना विज्ञानमा उत्कृष्ट योगदान पुर्याउने पुस्तकालयको रूपमा सम्मानित ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र लाई रु। ५० हजार नगद र कदर पत्रसहित महाकवि देवकोटा पुस्तकालय पुरस्कार, २०८२ प्रदान गरेको छ।

मूल समारोहका उपाध्यक्ष सहसचिव श्री रुद्रप्रसाद अधिकारीले कार्यक्रममा स्वागत मन्तव्य दिँदै यस वर्षको पुस्तकालय दिवस शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अगुवाइमा गठित मुख्य समारोह समितिको अनुरोधअनुसार देशभरका संघ, संस्था र निकायहरूले सक्रिय र सिर्जनात्मक रूपमा मनाइरहेको बताउनुभयो।
वरिष्ठ पुस्तकालयविद् इन्दिरा दलीले २०७२ सालको भूकम्पपछि निर्माण हुन बाँकी रहेको नेपाल राष्ट्रिय पुस्तकालयको काममा अविलम्ब पहल गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल सरकारसँग अनुरोध गर्नुभएको छ। उहाँले बाल्यावस्थादेखि पढ्ने बानी विकासका लागि राष्ट्रिय बाल पुस्तकालय स्थापना, वि।सं। २०७३ मा तयार पारिएको पुस्तकालय गुरु योजना कार्यान्वयन, सार्वजनिक र सामुदायिक पुस्तकालयलाई पाठकमैत्री बनाउने आवश्यकता औँल्याउनुभयो।डिल्ली रमण कल्याणी रेग्मी स्मारक पुस्तकालयविरुद्धको मुद्दा पुनरावलोकन र केसर पुस्तकालयमा सङ्कलित पुरातात्त्विक सामग्रीका लागि अलग कक्ष निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
समारोहको समापन गर्दै मन्त्रालयका सचिव तथा कार्यक्रमका सभाध्यक्ष चूडामणि पौडेलले नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माण तत्काल अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। मुलुकभरका पुस्तकालयको नियमन र सहजीकरणका लागि पुस्तकालय ऐनको मस्यौदा तयार गरी हिउँदे अधिवेशनमा संसद्मा पेस गर्ने र प्रत्येक प्रदेशमा केन्द्रीय पुस्तकालय स्थापना गर्ने जानकारी दिनुका साथै डिल्ली रमण कल्याणी रेग्मी स्मारक पुस्तकालयका कर्मचारीको सेवा सर्त कार्यान्वयन, अदालती निर्णयको पुनरावलोकन, केसर पुस्तकालयलाई अतिरिक्त समयमा खुला राख्ने, पाठकमैत्री बनाउने र सामुदायिक तथा सार्वजनिक पुस्तकालयको न्यूनतम बजेट सुनिश्चित गर्न समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
सो अवसरमा रुम टु रिडको सहकार्यमा रुपन्देही जिल्लाका ४८ विद्यालयमा स्थापना भएका विद्यालय पुस्तकालयको भर्चुअल उद्घाटनका साथै अठारौँ पुस्तकालय दिवसको स्मारिका र सहप्राध्यापक रुद्रप्रसाद दुलाल र पुस्तकालयविद् गीता थापा गिरीका पुस्तकहरूको विमोचन समेत गरिएको थियो।
प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार ००:२३












