१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

दुई हजार १२० घरमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार

१५ भदौ, बागलुङ । लघुजलविद्युत्को भरमा हरेका बागलुङका ग्रामीण क्षेत्रमा धमाधम केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाले पछिल्लो एक वर्षमा यस वर्ष दुई हजार १२० घरमा केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ । वर्षौँदेखि लुघजलविद्युत् आयोजनामार्फत विद्युत् प्रयोग गर्दै आएका क्षेत्रमा केन्द्रीय लाइन विस्तार गरिएको हो ।

जिल्ला सदरमुकाम आसपास क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार भइसकेको हुँदा अहिले पश्चिम बागलुङका ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकामा काम भइरहेको विद्युत् प्राधिकरणका प्रमुख पवन पौडेलले जानकारी दिनुभयो । पछिल्लो एक वर्षमा दुई हजार बढी घरमा केन्द्रीय लाइन विस्तार गर्दा ३७ हजार ४१६ ग्राहक बढेको उहाँको भनाइ छ ।

प्रमुख पौडेलका अनुसार रु १५ करोड ९२ लाख ५२ हजार १७७ लागतमा ३५ किलोमिटर ११ केभी र ४९ किलोमिटर शून्य दशमलव चार केभी लाइनको संरचना निर्माण गरिएको छ । एक वर्षमा ३७ स्थानमा ट्रान्फर्म जडान भएको पौडेलले जानकारी दिनुभयो । जिल्लाभर हालसम्म ८५ प्रतिशत घरमा विद्युत्को पहुँच पुगेको भन्दै त्यसमध्ये २९ दशमलव नौ प्रतिशत घरमा मात्र लघुजलविद्युत्को प्रयोग भइरहेको उहाँको भनाइ छ ।

“बागलुङ वितरण केन्द्रबाट अघिल्लो वर्षदेखि नै पश्चिम बागलुङलाई ‘फोकस’ गरेर लाइन विस्तार गरिरहेका छौँ, यस वर्ष ढोरपाटन र बडिगाडको केही ठाउँमा बत्ती बाल्यौँ सफल भयौँ, लाइन विस्तार धेरै ठाउँमा भएको छ”, प्रमुख पौडेलले भन्नुभयो, “अब जिल्लाका सबै दूरदराजमा केन्द्रीय लाइन पुर्याउने काम भइरहेको छ, अझै पनि जिल्लामा करिब ३० प्रतिशतका हाराहारीमा जलविद्युत् नै प्रयोग हुने गरेको छ ।”

केन्द्रीय लाइन विस्तार भएपछि ग्रामीण क्षेत्रका स्थानीय खुसी भएका छन् । केन्द्रीय लाइन जडान गरेपछि लघुजलविद्युत् बिगिँ्रदा महिनौँसम्म अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको बडिगाड गाउँपालिका–९ का कुलबहादुर क्षेत्रीले बताउनुभयो । केन्द्रीय लाइन जडान भएपछि बर्खाको समयमा धेरैपटक लाइन जाने गरेको उहाँको भनाइ छ । पछिल्लो एक महिनादेखि दैनिक दुईदेखि पाँच घण्टा लाइन जाने गरेको क्षेत्रीले गुनासो पोख्नुभयो ।

हालसम्म बागलुङका अधिकांश बस्तीमा केन्द्रीय तथा लघुजलविद्युत्को लाइन पुगेको छ । तर निसीखोला गाउँपालिका–५ स्थित निसेलढोर भने अन्धकारमै छ । राज्यले उपेक्षामा पार्दा सिङ्गो गाउँ नै अन्धरकारमा बस्न बाध्य रहेको स्थानीय देवबहादुर विकले बताउनुभयो । गाउँमा लाइन नहुँदा सामान्य मोबाइल चार्ज गर्न पनि घण्टौँ हिँडेर ढोरपाटन पुग्नुपर्ने उहाँले गुनासो पोख्नुभयो । जिल्लाभर ९८ वटाभन्दा बढी लघुजलविद्युत् आयोजना सञ्चालनमा रहे पनि निसेलढोरमा लाइन पुग्न नसकेको हो ।

प्रकाशित मिति : August 31, 2025 at 8:03 am